भरत दाहाल
बेलायत इयूबाट अलग्गिने जनमतले बहुमत देखाएपछि पश्चिमी साम्राज्यवादी शिविरमा धाँजा फाटेको छ। अब यूरोप ३ वटा शिविरमा विभाजन हुने निश्चित भएको छ। एउटा एङ्लो-अमेरीकन, दोश्रो रूसी र तेश्रो जर्मन नेतृत्वमा यूरोपको विभाजन हुने लक्षणहरू प्रष्ट रूपमा देखिएका छन्।

जनमत संग्रहले अहिलेको बेलायत पनि एक ढिक्का नरहने पक्का छ। बेलायतबाट स्वतन्त्र हुनका लागि दशकौं देखि हिंसात्मक र शान्तिपूर्ण आन्दोलनमा संलग्न हुँदै आएका उत्तरी आएरल्याण्ड र स्कटलैंडले जनमत संग्रहको परिणामको विरोध गर्दै यूकेबाट अलग्गिने संकेत देखाउन सुरू गरिसकेका छन्।
बेलायतमा भरएको राष्ट्रवादीहरूको विजय र अमेरीकामा ट्रम्पको लोकप्रियतासंगै उनले जनमत संग्रहको स्वागत गरेको घटनाले के संकेत गर्दछ भने विश्वमा पुनः दोश्रो विश्वयुद्धकालिन समिकरण तयार हुन थालेको छ। एङ्लो-अमेरीकन शिविरले अब (Trans-Pacific Partnership (TPP) लार्इ अघि बढाउने छन्।
साम्राज्यवाद आफैमा एउटा संकट हो। इयूको विघटन साम्राज्यवादी शिविरमा आएको विश्वव्यापी संकटको अभिव्यक्ति हो। कम्युनिजम खतराको हौवा पिटेर बनेको यो समिकरण अब थेगिन नसक्ने भैसकेको थियो। पहिलो र दोश्रो विश्वयुद्धका शत्रुहरू सँधैभरि संगै रहन सक्ने संभावना थिएन।
दुबै विश्वयुद्धका वास्तविक शत्रुहरू जर्मनी र बेलायत थिए। अमेरीका सँधै बेलायतको पक्षमा रहेको छ। दोश्रो विश्वयुद्धमा रूसलार्इ अनिच्छापूर्वक तानिएको थियो। यो कुरा बुझेर नै अमेरीका र रूसका बीचको विवादमा जर्मनीले मध्यमध्यमार्गी भूमिका देखाउँदै आएको थियो। यो तेश्रो विश्वका लागि सन्तोषको समाचार हो।













