२९ मंसिर, काठमाडौं । निर्वाचन लगत्तै पार्टी एकीकरण गर्ने भनी गठबन्धन बनाएर निर्वाचनमा गएका दुई दल एमाले र माओवादी केन्द्रको एकतामा अड्चनहरु देखिएका छन् । माओवादीसँगको गठबन्धनका कारण निर्वाचनमा एमाले सबैभन्दा ठूलो भएपछि यसका नेताहरुको बोली फेरिन थालेको छ । साठी र चालीसको भागवण्डाको सहमति गरेका दुई दलबीच दोस्रो तहका नेताहरुमार्फत ओलीको नयाँ रणनीति सार्वजनिक हुन थालेको छ ।
एमाले अध्यक्ष ओलीका निकट व्यक्ति ईश्वर पोखरेलमार्फत ओलीले माओवादीलाई झस्काउने कुरा सार्वजनिक गरेका छन् । पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एकै व्यक्ति हुने बताउँदै एकीकरणका क्रममा माओवादी नेतालाई सरकार र पार्टीको नेतृत्वको कुनै पद नदिने कुरा पोखरेलले सार्वजनिक गरेका हुन् ।
दोस्रो संविधान सभा र स्थानीय निर्वाचनमा नराम्रो पराजय भोगेपछि माओवादी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड एमालेसँगको एकीकरणका लागि हाम्फालेका थिए । एमालेसँग एकीकरण गरेर ठूलो कम्युनिस्ट पार्टीको नेतृत्व लिने दाऊमा रहेका प्रचण्डलाई एमालेले भने नेतृत्व नदिने संकेत देखिएको छ ।
पदीय भागवण्डामा समस्या
निर्वाचनमार्फत ठूलो दल भएको हैसियतमा नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्नुपर्नेमा कसैले प्रश्न उठाउने सम्भावना छैन । ओलीलाई सरकारको नेतृत्वमा पठाएपछि एकीकृत पार्टीको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक अपेक्षा प्रचण्डको नहुने पनि कुरा भएन । तर एमालेभित्रकै दोस्रो तहका नेताहरुको आकांक्षाले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बन्न सहज भने देखिएको छैन ।
निर्वाचनका क्रममा पनि माओवादी कार्यकर्ताले एमाले उम्मेदवारलाई भोट दिए पनि एमाले कार्यकर्ताले माओवादी उम्मेदवारलाई भोट नदिएका तथ्यहरुले पनि माओवादीप्रति एमालेभित्र नकारात्मक धारणा भएको स्पष्ट पारेको छ ।
एमालेका केन्द्रीय नेतादेखि जिल्ला नेता र कार्यकर्तासम्म नै माओवादीप्रति सकारात्मक धारणा विकास हुन नदिनुको अर्को महत्त्वपूण खेल देखिन्छ । त्यो हो पार्टी एकीकरण भैसकेपछि हुने महाधिवेशनमार्फत समेत अध्यक्ष पदमा प्रचण्ड चयन नहोऊन् भन्ने ।
एमालेभित्रकै गुटलाई लिएर अध्यक्ष बन्न सक्छन् प्रचण्ड
एमालेभित्र मुख्यरुपमा केपी ओली र माधव नेपाल नेतृत्वका दुई गुट छन् । तर कहिले ओलीसँग नजिकिने र कहिले नेपालसँग नजिकिने अर्को एउटा सानो गुट छ वामदेवसँग । यिनै गुटहरुसँगको समिकरण मिलाएर प्रचण्डले आफूलाई बहुमतमा पुर्याउन सक्ने सम्भावना देखिन्छ । निर्वाचनका क्रममा नै वामदेवलाई माओवादीको भोट आएको र एमालेको भोट नआएको अवस्थाले माओवादी र वामदेव गुटबीच एकता हुने स्वभाविक छ । अर्को महाधिवेशनमार्फत पार्टी अध्यक्ष बन्ने योजनामा रहेका माधव नेपालसँग पनि प्रचण्डको समिकरण बन्न सक्छ । प्रचण्डले यस्तो रणनीति अपनाउन सक्छन् भन्ने कुरा चतुर खेलाडी ओली पनि बुझेकै छन् । त्यसैले सकेसम्म प्रचण्डलाई अर्को क्याम्पमा जान नदिनका लागि ओलीले कसरत गर्ने छन् र प्रचण्डले पनि सकेसम्म ओलीसँगै कुरा मिलाउन प्राथमिकता दिने छन् ।
समस्या रह्यो ईश्वर पोखरेल र अरु नेताहरुको । दुईदुई कार्यकालसम्म एउटै पदाधिकारी पदमा बसिरहेका नेताहरु धेरै नै छन् एमालेमा । तिनीहरुको मिलान कसरी गर्ने भन्ने समस्या पनि ओलीलाई हुने छ । अर्कोतर्फ आफूहरुका दायाँ हात मानिने नेताहरुको मिलान कसरी गर्ने भन्ने विषयमा प्रचण्ड पनि त्यतिकै चिन्तित देखिन्छन् ।
यी सबै कुराको छिनोफानो गरेर एकताको महाधिवेशनमार्फत नेतृत्व चयन गर्ने पक्षमा एमालेका अधिकांश नेता देखिएका छन् । अहिलेलाई पदीय भागवण्डातिर नलागी अन्तरिम विधान बनाउने र महाधिवेशन आयोजक समिति बनाएर महाधिवेशनमा जानुपर्ने गरी केही नेताहरु कसरतमा लागेका छन् । ओलीले सरकारको नेतृत्व नै गरे पनि महाधिवेशनपूर्वको अवस्थासम्म ओलीले पार्टीको नेतृत्व नछाड्ने अडान देखिन्छ ।
त्यसो भए माओवादी केन्द्रको नेतृत्वकर्ता प्रचण्डका लागि तत्काल के पद त ? आफूलाई सदैव कार्यकारी शक्तिमा राख्न चाहने प्रचण्ड केवल महाधिवेशन आयोजक समिति सदस्य भएर बस्ने अवस्था देखिन्न । एकतामा आएका माओवादी नेता र कार्यकर्ताको मनोबल पनि कमजोर हुनसक्ने भएकोले प्रचण्डका लागि पनि नेतृत्वमा समानान्तर पद सिर्जना गर्ने देखिन्छ ।
एमाले र माओवादी एकताको मुख्य आधार दुई दलका अध्यक्ष दुवैलाई संयोजक तोकेर अरु सबैलाई महाधिवेशन आयोजक समितिमा राख्नु उपयुक्त देखिन्छ । तर, एमालेभित्रकै ओली निकट कतिपय व्यक्तिहरु भने यो प्रक्रियामा जान तयार भएको देखिँदैन ।