मन्दाकिनी शर्मा
२४ मंसिर, वर्दिया । देशभर वामगठबन्धनको विजयको लहर चलिरहेको बेला एमाले र माओवादीबीच नै चुनावी प्रतिश्पर्धा हुने वर्दियामा दुवै दल मिलेपछि वामदेव गौतम सबैभन्दा सुरक्षित अवस्थामा थिए । वामदेव आफैं पनि २९ हजारको मतान्तरले जित्ने दम्भका साथ बसिरहेका थिए । यही दम्भका कारण न त उनले जनताको घरदैलोमा भोट माग्न गए न त स्थानीय नेता कार्यकर्तासँग सहकार्य नै गरे । फलतः त्यसको स्वाद चुनावी परिणाम आएपछि चाखे वामदेवले ।
२९ हजारको मतान्तरले जित्ने सपना देखेर सुतिरहेका वामदेवले ७५३ को सामान्य मतान्तरले वर्दियाली जनताले वामदेवलाई दण्डित गरेका छन् ।
वामदेवको पराजयलाई सामान्यीकरण गर्ने र त्यसलाई अन्यत्रै मोड्ने प्रयास विभिन्न किसिमले देखिएको छ । जस्तो एउटा उदाहरण केपी ओली र ईश्वर पोखरेलले वामदेवलाई ठेगान लगाएका हुन् भन्ने छ । यो जति वाहियात उदाहरण अरु केही हुर्नै सक्दैन । केपी ओली र ईश्वर पोखरेललाई भगवान ठान्ने केही कार्यकर्ता र उनैका हनुमान पत्रकारबाट यस्तो विश्लेषण आएको हुन सक्छ । म एक जना वर्दियाको नागरिक भएको हिसाबले त्यहाँको अवस्था र एमाले कार्यकर्तामा वामदेवप्रतिको वितृष्णा (अझ एकीन रुपले भन्ने हो भने घृणा) ले सीमा नै नाघेको थियो । पार्टीको नेतृत्वमा आफ्ना नेता रहेर पनि वर्दियाको विकासमा सधैं प्यासी रहे वर्दियालीहरु । त्यति मात्रै होइन केपी ओलीसँगै विचार नमिलेर पार्टी फुटाएका वामदेव जब पदीय लालसामा पछि ओलीसँगै घाँटी जोडे त्यसपछि वामदेप्रतिको श्रद्धाको तृण पनि बाँकी रहेको थिएन वर्दियाका एमाले नेता कार्यकर्ताहरुमा । तर पनि स्थानीय नेता कार्यकताले काँध थापेर आफ्नो प्रतिष्ठालाई बेच्दै वामदेवका लागि भोट मागेर वामदेवलाई जिताए दोस्रो संविधान सभामा । तर उनले त्यो विश्वासलाई पनि त्यतिवेला गुमाए जब वर्दियालाई लात हानेर प्युठान रोजे । त्यतिवेलादेखि नै वामदेवलो वर्दियाको मुख नहेर्ने गरी लात मारेको वर्दियालीहरुले बुझेका थिए । तर अहिले स्थानीय निर्वाचनमा एमाले र माओवादीले २ नं क्षेत्रमा पाएको मतको हिसाब निकालेर २९ हजार मतले जित्ने सपना देखेर वर्दियामै हाम्फालेका वामदेवलाई त्यहाँका जनताले धुलो चटाइदिएका हुन् ।
वामदेव पराजित हुनुमा वर्दियाली जनताको निर्णयको अवमूल्यन गर्दै यतिवेला केपी ओली र ईश्वर पोखरेलले हराएको कुरा उठाउन खोजिँदै छ । यो कुरा केवल ओली र पोखरेलका भरौटेहरुको कामबाहेक अरु केही हुनै सक्दैन । यसो भन्नु ओली र पोखरेलको शक्ति ठूलो छ चाहे भने त्यस्तो व्यक्तिलाई पनि हराइदिनसक्छन् भनेर चाकडी गर्ने भरौटेहरुले चाकडी गरेको सम्झनुको विकल्प छैन । त्यस्ता महान् शक्तिशाली ओली आफैले पहिलो संविधान सभाको निर्वाचनमा किन जित्न नसकेका र ईश्वर पोखरेल संविधान सभाका दई वटै निर्वाचनमा पछारिएका ? वामदेवलाई ओली र पोखरेलले हराएर ठेगान लगाएका हुन् भनेर समाचार लेख्ने र फेसबुक स्टेटस लेख्नेले के यो कुरा विर्सेका छन् ?
त्यसकारण वामदेवले एमालेका अरु कुनै नेताका कारण नभएर आफ्नै चरित्रका कारण हारेका हुन् । २९ हजारको सुरक्षित भोट ब्याङ्क भएकालाई पनि जनताले हराइदिनसक्छन् भन्ने अनुपम उदाहरण हो यो । उनले हार्नुका धेरै कारण भए पनि केही प्रमुख यस्ता देखिन्छन् :
१. वामगठबन्धन भएपछि अन्यत्रभन्दा वर्दिया सबैभन्दा सुरक्षित भएको ठानेर वर्दियाबाटै टिकट लिनु
२. २९ हजार मतान्तरले कांग्रेस उम्मेदवारलाई पराजित गर्छु भन्ने दम्भले एमाले कार्यकर्ता र मतदातालाई बेवास्ता गर्नु ।
३. वर्दियाबाट आफू निर्वाचनबाट उठेपछि एमालेका कुनै स्थानीय नेता कार्यकर्तालाई पनि सन्तुष्ट पार्नुपर्छ भन्ने नठानी आफ्नै पत्नीलाई समानुपातिक सांसदको कोटामा राख्नु ।
४. प्रभावशाली नेता भएर पनि वर्दियाको विकासमा सिन्को नभाँच्नु ।
५. भ्रष्ट्र र चरित्रहीन मानिसलाई सधैं काँधमा बोक्नु ।
६. ताक परे तिवारी नत्र गोतामे भनेजस्तै चुनाव जित्न वर्दिया जाने नत्र वर्दियालाई बेवास्ता गरेको उदाहरण ।
७. केपी ओलीलाई राष्ट्रघाती र भारतपरस्त भन्दै एमाले फुटाएका वामदेव कालान्तरमा ओलीसँगै मिल्न जानुले उनी सिद्धान्तहीन भएको स्ष्ष्ट हुनुका साथै पद र व्यक्तिगत स्वार्थका लागि मात्रै राजनीति गर्ने व्यक्ति रहेको वर्दियाली जनता तथा एमाले नेता कार्यकर्ताले बुझ्नु ।
– बाँसगढी, वर्दिया