ओम शर्मा चापागाई
डा. बाबुराम भटृराईद्वारा सार्वजनिक गरिएको एउटा निमन्त्रणा पत्र पढेपछि उहाँलाई केही जिज्ञासा राख्न मन लाग्यो । त्यसैले डा साब तपाईंलाई यी प्रश्न गर्दै छु । यी प्रश्नको जवाफ तपाईंले नदिएसम्म म र मजस्ता आम जनताले तपाईंलाई अब विश्वास गर्ने ठाउँ म देख्दिन । त्यसैले मजस्ता नागरिकका यी प्रश्नको जवाफ तपाईंले दिनै पर्छ । आशा गर्दछु मजस्तो नागरिकका लागि व्यक्ति रुपले तपाईंले जवाफ दिनुपर्दैन जनताका माझमा तपाईंको निमन्त्रणापत्र जसरी नै जवाफ दिए हुन्छ ।
प्रश्न नं. १. तपाईंको निमन्त्रणा पत्रको दोस्रो अनुच्छेदमा उल्लेख भएको वाक्यांशमा ‘असोज ३, २०७२ मा नेपालको संविधान जारी भएपछि हामी आधुनिक नेपाली इतिहासको तेस्रो चरणमा प्रवेश गरेका छौं । पहिलो चरणमा नेपालको भौगोलिक एकीकरण भयो भने दोस्रो चरणमा नागरिक अधिकारका लागि करीब ७५ वर्ष आन्दोलन भए’ भन्ने उल्लेख छ । यदि पृथ्वीनारायण शाहको योगदान स्वरुप उपलब्ध भौगोलिक एकीकरणलाई पहिलो चरणको उपलब्धी ठानिएको हो भने सामन्ती शासक पृथ्वीनारायण शाहले केन्द्रिकृत गरेको शासन पद्दतिलाई अस्वीकार गर्दै पुनः संघीयता मार्फत राज्य बाँडफाँड गरिनुपर्छ जातीय पहिचान सहित अधिकार फिर्ता दिनुपर्छ भनेर संघीयताको विवादित मुद्दा उठान गर्ने तपाई र तपाई आवद्ध माओवादी दल हो कि होइन ? यसकिसिमको दोहोरो नीति कसका लागि र के का लागि ?
प्रश्न नं. २ यदि ३ असोज २०७२ मा नयाँ संविधान जारी भएको अवस्थालाई दोस्रो चरणको उपलब्धी ठानिएको हो भने जनपक्षीय संविधान जारी भएन भनेर सांसद पद त्याग गरी यहाँसमेत रहेर हस्ताक्षरित संविधानका विरुद्ध आन्दोलनरत पक्षसंग तराईमा गई आन्दोलन चर्काउने तपाईको नीति किन र केका लागि तय थियो र हो ?
प्रश्न नं. ३. तेस्रो अनुच्छेदमा उल्लेख छ : ‘वर्गीय, लैङगिक जातीय तथा क्षत्रीय विभेदहरु नहोऊन् । हामी मधेसी, थारु, आदिवासी जनजाती र खस आर्य समुदायबीच समानुपातिक सहभागिता सुनिश्चित गरेर विविधताबीच एकता कायम गर्न चाहन्छौं ।’
यदि यस्तो परिकल्पना तपाईंमा थियो र हो भने २०५९ सालको वैशाख र जेठमा आर्य खस समुदायभित्र पर्ने १३ वटा जातीय समाज मिलेर बनेको राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि गठित संयुक्त संघर्ष समितिले उठान गरेका मुद्दा खासगरी आर्य खस समुदायलाई अन्यबाट हटाई आदिवासीमा सूचीकृत गरिनुपर्ने, जातीय आधारको संघीयता हुन नहुने जस्ता मागहरुलाई यहाँले पूर्णरुपमा उपेक्षा गरी प्रधानमन्त्रीको हैसियतले जायज माग सम्बोधन तर्फ पहलका कुरा छाडौं दर्जनौं पटक प्रयास गर्दा पनि यहाँले हामीलाई भेट दिनुभएन । मुलुकभरका आर्य खस समुदाय सडकमा उत्रे, ०६९ जेठ १४ गते संविधान सभा घेर्न बाध्य भए यस अवस्थामा पनि यहाँले पूर्ण रुपमा उपेक्षा गर्नुभयो कारण के थियो ? तपाईका विगत क्रियाकलाप, व्यवहार र कतिपय निर्णयले गर्दा नेपाल र नेपालीेले ठूलो मूल्य चुकाउनु पर्ने अवस्था छ । त्यस तर्फ अहिले बहसमा नजाऊँ । जिज्ञासा र पिडा अधिक छन् ।
अहिलेलाई माथि उल्लेखित तीनवटा जिज्ञासावारे सही जवाफ तपाईंले दिनै पर्छ । जवाफको प्रतीक्षामा छु ।















