४ भदौ । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको नेतृत्वमा साहित्यकारको टोली यतिवेला जर्मनी पुगेको छ । युरोप भ्रमणका क्रममा रहेको साहित्यकारको टोली जर्मनको ऐतिहासिक स्थल बर्लिन तथा तानाशाह हिटलरको संसद भवन लगायतका स्थलहरु अवलोकन गरेको छ ।
बर्लिनको पर्खालमा पुगेर सरुभक्तले यस्तो कविता पंक्ति कोरेका छन् :
बर्लिन पर्खाल हटे पनि मनको पर्खाल हटेको छैन
बन्धुत्वको कुरा हुन्छ विद्वेष कतै कटेको छैन
राइखस्टागको अवशेषमा उभिएर म सत्य भन्छु
जिन्दगीको महायुद्ध जिन्दगीबाट घटेको छैन ।
सरुभक्तले हिटलरको शक्तिको केन्द्र संसदभवन अगाडि पुगेर र दोस्रो विश्वयुद्धको इतिहास संग्रहित जर्मनको संग्रहालयको अवलोकन गरेको जानकारी दिएका छन् ।
साहित्यकारहरुको टोलीले युद्धकालीन अभिलेख रहेको गेस्टापो भवनको समेत अवलोकन गरेको छ । गेस्टापो भवन अवलोकन गर्दै सरुभक्तले सन्त्रासहरुको अभिलेख रहेको संग्रहालय अवलोकन गरेको बताएका छन् । सरुभक्तको टोलीमा एनआरएनका पूर्वअध्यक्ष तथा साहित्यकार जीवा लामिछाने, मधुपर्कका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन लगायत सहभागी छन् ।














