१९ मंसिर, न्युजिल्याण्ड । सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेवापत एक नेपालीलाई न्युजिल्याण्डको सम्मानित अवार्ड प्रदान गरिने भएको छ । शरणार्थी तथा आप्रवासीका लागि विशेष योगदान गरेवापत नेपाली मूलका विष्णु पोखरेललाई न्युजिल्याण्डको सिभिक अवार्ड २०१७ प्रदान गरिने भएको हो । विशेष योगदान गर्ने पाँच जनालाई हरेक वर्ष प्रदान गरिने सो अवार्डबाट पहिलोपल्ट नेपाली समेत सम्मानित हुने भएका हुन् । पोखरेल विगत ११ वर्षदेखि न्युजिल्याण्डमा बसेर आप्रवासी र शरणार्थीका क्षेत्रमा कार्य गर्दै आएका छन् ।
न्युजिल्याण्डको क्राइस्ट चर्च सिटी काउन्सिलले प्रदान गर्ने सो अवार्ड यही डिसेम्बर महिनाको १३ तारिकमा प्रदान गरिने छ । क्राइस्ट चर्च म्युनिसिपलिटीका मेयरले सो पुरस्कार प्रदान गर्ने जानकारी न्युजिल्याण्डबाट पोखरेलले बताए ।
नेपालको पोखरामा जन्मेका पोखरेल न्युजिल्याण्डमा क्याटबेरी नेपाली सोसाइटीका अध्यक्ष हुन् । उनी त्यहाँको रेडक्रसमा शरणार्थी सम्बन्धि राष्ट्रिय सल्लाहकार तथा न्युजिल्याण्ड प्रहरीको समेत सल्लाहकार रहेका छन् ।