१६ असार, काठमाडौं । नेपाल उद्योग वाणीज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे निलम्बनमा परेपछि हालका बरिष्ठ उपाध्यक्ष पशुपति मुरारका अध्यक्ष बन्ने लगभग पक्का भएको छ । अध्यक्ष पदका लागि उम्मेदवारी दिएका अर्का दुवै उम्मेदवार भास्करराज राजकर्णिकार र भवानी राणाले आफूहरुको उम्मेदवारी फिर्ता लिएर मुरारका समर्थन गरेपछि उनी अध्यक्ष बन्ने निश्चित भएको हो । राजकर्णिकार र राणाले वुधबार एक साथ हात उठाएर मुरारकालाई समर्थन गरेका हुन् ।
छोटो अवधिका लागि अध्यक्ष बन्न लागेकै भए पनि मुरारकाको बाटो बैधानिक नहुने वकिलहरुको दावी गरेका छन् । महासंघको विधान अनुसार अपराधको आरोप लागेको पदाधिकारी स्वतः निलम्बन गर्ने व्यवस्था भए पनि हाल सर्वोच्चमा पाण्डेको मुद्दा बिचाराधिन रहेकाले उक्त मुद्दाको फैसला नभएसम्म महासंघको नयाँ अध्यक्ष वैधानिक नहुने वकिलहरुले बताएका हुन् ।
महासंघमा आन्तरिक विवाद बढ्दै गएपछि उनका प्रतिद्वन्द्वीहरुले पाण्डेलाई आरोप लगाएर थुनामा राखेको पाण्डे निकट व्यक्तिहरुको भनाई छ ।
हाल सर्वोच्चमा विचाराधिन रहेको मुद्दामाथि पूर्व महान्यायाधीवक्ता बद्रीवहादुर कार्की लगायतकाहरुले हेरिरहेका छन् भने फैसला नभएसम्म कुनै पनि पदमा रहेको व्यक्तिको पद खारेज हुने व्यवस्था नभएको बताएका छन् । सर्वोच्चको यो नजिरले हाल भ्रष्टाचारको आरोप खेपीरहेका पाण्डेको मुद्दाले महासंघको पनि टाउको दुखाई बनिरहेको छ ।
हाल कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचार गराईरहेका पाण्डेलाई उक्त भ्रष्टाचार मुद्दामा तत्कालिन राजा वीरेन्द्रले माफी दिएको पाण्डेले बताउँदै आएका छन् । यता उनको मुद्दा हेरिरहेका वकिलहरुको भनाईअनुसार लामो समयअघिको अभियोगमा पाण्डेलाई पक्राउ गरिएकाले तत्कालिन प्रमाण पाउन पनि मुस्किल भएको बताएका छन् । उच्च रक्तचापक विरामी रहेका पाण्डेको मुटुमा गम्भिर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
भ्रष्टाचार मुद्वामा पक्राउ नगर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पाण्डेलाई पक्राउ गरेको थियो । सर्वोच्चमा विचाराधिन मुद्दाको केहि समयपछि फैसला हुने बताईएको छ । हालसम्म कुनै सवुत प्रमाण नपाएकाले पाण्डेकै पक्षमा सर्वोच्चको फैसला आउने श्रोतले बताएको छ ।













