७ असार, काठमाडौं । विवादास्पद सहसचिव भरतराज सुवेदीको व्यक्तिगत फाइल एकाएक गायब भएपछि सामान्य प्रशासन मन्त्रालयले उनको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र खोज्न छानबिन समिति गठन गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशकसमेत रहेका ‘सुवेदीसँग दुइटा नागरिकता’ शीर्षकमा कान्तिपुरमा समाचार प्रकाशित भएपछि सरकारले उनको व्यक्तिगत फाइल बुझ्दा गायब रहेको पाइएपछि सामान्य प्रशासनले मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको हो ।
सामान्य प्रशासनका सहसचिव सुरेश अधिकारीको संयोजकत्वमा गठित छानबिन समितिमा सामान्यका उपसचिव नन्दराज ज्ञवाली र कानुन अधिकृत बाबुराम पाण्डे छन् ।
सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता अधिकारीका अनुसार निजामती किताबखानामा सुवेदीको व्यक्तिगत अभिलेख खोजी गर्दा केही पनि भेटिएन । किताबखानामा रहेको सुवेदीको नागरिकताको प्रमाणपत्र र एसएलसीदेखि स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यताको प्रमाणसहितको प्रतिलिपि उनको व्यक्तिगत फाइलबाट गायब पारिएको छ ।












