१९ पुस, काठमाडौं । ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वपूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवाल पक्राऊ पर्ने डरले मलेसिया पुगेका छन् । सर्वोच्च अदालतले कारवाही गर्न दिएको आदेशसँगै प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेपछि सिलवाल मलेसिया पुगेका हुन् । सिलवाल ३ दिनअघि नै मलेसियाको क्वालालम्पुर पुगेको उनको पारिवारिक स्रोतले जानकारी दिएको नयाँपत्रिका दैनिकले उल्लेख गरेको छ ।
नेपाल प्रहरीले भने उनलाई पक्राउ गर्नका लागि पक्राउ पुर्जी जारी गरिसकेको छ । सरकारी कागज कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरी महानिरीक्षक बन्नका लागि पेश गरिएको कार्यसम्पादन मूल्याङ्कनमा कीर्ते गरेको आरोप सिलवालविरुद्ध लागेको छ । केही दिनअघि सर्वोच्च अदालतले महानिरीक्षकको कार्यसम्पादन मूल्याङ्कनमा कीर्ते कागज पेश गर्नेको पहिचान गरी कारवाही गर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पुस ५ गते कीर्ते प्रकरणबारे मुद्दा दर्ता गरेको थियो । सोही घटनाको अनुसन्धानका लागि सिलवाललाई पक्राउ गर्न पुर्जी जारी गरिएको हो ।
मलेसियामा आयोजित एक कार्यक्रममा सहभागी बन्नका लागि सिलवाल त्यसतर्फ गएको जनाइएको छ ।












