लेखनाथ न्यौपाने
उनीहरुले नस्वीकार्न सक्छन् तर नेपालका दुईवटा संसदीय कम्युनिस्ट पार्टीहरु मध्ये ‘एमाले र एमाओवादी’ वीचमा धेरै विषय समानता देखिन्छ । दुबै दलका नेताहरुले हजारौंका कोट लगाउछन् लाखौंका गाडी चढ्छन् र करोडौका घरमा बस्छन् तरपनि मञ्चमा उभिएर ‘उठ ! जाग हे भोका नाङ्गाहरु…..’ भनेर कम्युनिस्ट अन्तर्राष्ट्रिय गीत गाउन छाड्दैनन् । दुबै दलले विजातीय वर्ग (एमालेले काँग्रेससँग र एमाओवादीले मधेशवादीसँग) सँग सहकार्य गर्न खुव मन पराउँछन् । दुबै दलले आफूलाई जनताको खाटी प्रतिनिधि भएको दावी गर्छन् र श्रमिकहरुको प्रतिक चिन्ह ‘हँसिया हथौडा’ अंकित झण्डा बोक्छन् । तरपनि एकले अर्कोलाई सौताको नजरले हेर्न छाड्दैनन्, किन होला ? किनभने एकै पटक संसदभित्र दुबै दल समान आकारमा रहनै सक्दैनन् । यसको अर्थ एमाओवादी ठूलो हुँदा एमाले खुम्चन्छ नै जस्तो संविधानसभा निर्वाचन–१ र एमाले ठूलो हुँदा एमाओवादी चाउरिन्छ नै जस्तो संविधानसभा निर्वाचन–२ । यसकारण यि दुई दल विजातीय वर्गलाई बोकेर भएपनि, गैर राजनीतिक भाषामा नाङ्गेझार पारेर भएपनि एकले अर्कोलाई कमजोर, नकाम र अस्तित्वविहिन बनाउन ज्यान फालेर लाग्नै पर्छ । आजभोलि एमाले र एमाओवादी वीचको वाक्क–दिक्क लाग्लो दोहोरी यसैको निरन्तरताको कडी हो । सत्ता पक्षीय वामपन्थी दल र प्रतिपक्षीय वामपन्थी दल वीचको गैरराजनीतिक र गैरसंस्कारको दोहोरी फागुन १६ पछि थप उत्कर्षतिर लागेको आंकलन गर्न सकिन्छ ।
संसदको प्रतिपक्ष गठवन्धन (एमाओवादी र मधेशवादी) ले फागुन १६ गते उसैको भाषामा ‘शक्ति प्रदर्शन’ ग¥यो र एमाले, काँग्रेस बनेको निष्कर्ष निकाल्यो तर के कारणले एमाओवादी काँग्रेस वा एमाले जस्तो भएन र एमाले मात्र काँग्रेस जस्तो भयो ? निकै गम्भीर विषय हो जसको पुरै शल्यक्रिया नगरेसम्म को खासमा कम्युनिस्ट हो र को नामधारी कम्युनिस्ट भनेर आम जनताले छुट्याउन सक्ने छैनन् तर अरु बिग्रेको छर्लङ्ग देख्नेले आफू त्यो भन्दा बढी बिग्रेको नदेख्दै नदेख्ने रोग खतर्नाक छ । फागु १६ को सभा कसरी ‘शक्ति प्रदर्शन’ भयो र यसको उद्देश्य के थियो ? भन्ने विषय चाहिं आजसम्म उसले प्रष्ट पार्न सकेको छैन । शक्ति प्रदर्शन त त्यस्तो तागत हो जसले सत्तापक्ष वा जसका विरुद्ध शक्ति प्रदर्शन गरिएको हो उसलाई झुकाइ छाड्छ र शक्ति प्रदर्शन गर्ने पक्षका मागहरु त्यसै दिनको विशेष सम्बोधन मार्फत पुरा भएको घोषणा गरिन्छ । यस अर्थमा त्यो दिनको कार्यक्रम शक्ति प्रदर्शन नभएर जुलुश र सभा मात्र थियो तर विना अन्तरवस्तुको शक्ति प्रदर्शन भन्न मै किन रमायो प्रतिपक्षीय मोर्चा ? लुकेका धेरै कारण होलान तर राजनीतिक पार्टीका नेताहरुले योजना, विषय र भविष्य बोल्न नजान्ने एउटा गजबको उदाहरण भन्न सजिलै सकिन्छ । जब नेताको मुखबाट योजना, विषय र भविष्य बोलिदैन तब बोली अनिवार्य गाली गलौजमा झर्छ । आफ्नो पार्टीको दृष्टिकोण र विषय प्रस्तुत गरेर जनमत बटुल्ने भन्दा अरु (विरोधी) लाई उग्र गाली गरेर ताली खाने संस्कार बलशाली हुँदै आएको नेपाली राजनीतिमा फागुन १६ को खुल्लामञ्चको भाषण र त्यसयताका प्रतिभाषणहरु गालीको प्रतिस्पर्धा झैं चलिरहेको छ । यो संस्कार, सचेत र विषय केन्द्रीत वहस अनि वहस मार्फत विचार निर्माण गर्ने वामपन्थीहरुका लागि थपिदै गरेको अर्को चुनौति हो भन्दा फरक नपर्ला ।
निकै प्रचार गरिएको लामो आन्दोलन (?) र राजधानी केन्द्रीत शक्ति प्रदर्शनमा प्रतिपक्षीय पार्टी मुख्यतः एमाओवादीको दृष्टिकोण, आगामी योजना र मुलुकको गन्तव्य कहाँ हो ? यसका लागि समस्या केके हुन ? प्रतिपक्षले समस्यााहरु कसरी सुजाउन खोजेको हो र व्यवधान कहाँ कहाँ देखाप¥यो ? भन्ने विषयमा बोल्लान कि भनेर दिनभरी रत्नपार्कमा पलेटी कसेर बसेको पंक्तिकार कार्यक्रमको समापनसँगै प्रतिपक्षको दिशाहिनाता देखेर थप निराश भएर फर्कन बाध्य भयो । शक्ति प्रदर्शकहरुले कति बुझे बुझेनन् बुन्नी तर न बोल्नेले बुझिने शैलीमा विषय केन्द्रीत बोल्न जाने न सुन्न आएका वा ल्याइएकाहरुले नै ध्यान पूर्वक अडिएर सुन्न चाहेको देखियो । भीड भयङ्करै थियो तर आ–आफ्नै तालमा । रात्री यात्रामा आएकाहरु मस्तसँग समूहमा सुतिरहेका थिए भने कोही सारङ्गी गीत सुनेर सानो तिनो आमसभा रत्नपार्कभित्र चलाउँदै थिए । कोही फुटपाथमा सस्ता सामानमा झुम्मिएका थिए त कोही हुलका हुल असन र नयाँ सडकतिर बरालिदै थिए । यसको अर्थ मान्छे त धेरै नै आए, ल्याइए वा सहभागी भए र सत्तापक्षलाई देखाइयो भन्ने पनि प¥यो होला तर उद्देश्य के थियो भनेर नाप्ने ब्यारोमिटर नै बिग्रे जस्तो पो भयो कि ! विना गोल करोड नै सडकमा आए पनि यस्तै र उही छ दिने आमहड्ताल (२०६७, वैशाख) को जस्तै चिसो पानीले नुहाउनुको विकल्प कहाँ रहन्छ र ?
केही समय अघिदेखि ओली कामरेडको बोली गालीमा झरेको सन्दर्भले अन्ध एमालेहरुलाई त मन परेकै हुँदो हो तर अरुहरुलाई त्यसले तर्र्काएकै थियो र छ । ओलीको बोलीको कारण पनि १६ गते धेरै मान्छे (एमाओवादी समर्थक) जम्मा भए होलान भनेर अड्कल गर्न सकिन्छ । तर ओली गालीको प्रतिउत्तरमा प्रतिपक्षले दिन बिताउँने त होला नि भनेर आकालन गर्नेहरु सही सवित नै भए । त्यसैलै विगतको जस्तो अरु पार्टीका कार्यकर्ता, वौद्धिक जगत र मध्यम वर्ग फागुन १६ मा खास देखिएन । शनिवार कार्यक्रम किन राखेका होलान भन्दै गर्दा गाउँबाट बसमा मान्छे हालेर ल्याउन सजिलो होस भनेर रे । ठिकै हो सडकमा मधेश र पहाडका गाउँले जनताको संख्या बढी नै थियो जसले शक्ति प्रदर्शन पनि गरेर प्रतिपक्षको नाक जोगाए र काठमाडौंको धुँवा–धुलोसँगै रमिता पनि हेरे । तर सत्ता र प्रतिपक्ष वीचको रमिता शक्ति प्रदर्शनमा आएकाहरुको टाउकाको संख्याको विवादमा वदलिएको हिसाब निकै चर्का चर्कीमा उक्लिएको छ ।
कसैले गुगलको प्रमाण भनेको छ त कसैले फलानो भूगोल विदको तर्क भन्दै टाउका घटाउने र बढाउने रमिता चलिरहेकैछ । आजसम्म पनि एमाओवादीका नेता–कार्यकर्ता फागुन १६ को अंकगणितको वहसमा ज्यान फालेर लागिरहेका छन् भने त्यसरी नै एमालेका नेता–कार्यकर्ताहरु पनि अंकगणितकै विवादमा टाउकाले टेकेर उत्रिएका छन् । जुन तर्क, वितर्क र पाखुरा सुर्काइको कुनै अर्थ छैन् । विना अर्थको विषयमा जब विवाद वा वहस हुन थाल्छ बुझ्नु पर्दछ कि टपर्टुयाँहरुको बोलवाला चल्दैछ । आन्दोलनको विषय धुमिल हुँदैछ र आन्दोलनकारी कुईराको काग बन्दैछन् । प्रतिपक्षले शक्ति प्रदर्शन गरेर सत्ता पक्षसँग सहमतिका लागि अनुरोध गर्ने जस्तो विचित्रको विषय अरु के होला र राजनीतिमा ? तमु–गण्डक (एमालेका कतिपय नेताहरुले तमु पहिला लोख्ने कि गण्डक भन्नेमा फेरि विवाद निकाल्ने पक्का छ) जस्तै नाम राखेर शुद्ध रुपवादी संघीयता बनाउन संसदभित्रका सबै दलहरु सहमत हुने र यसैमा हाम्रो जीत भयो भनेर एमाओवादीले आत्मरथी लिने लगभग निश्चित जस्तो भएको बेला यस्ता विचित्र चित्रहरु अरु कति देख्न पाइने हो ?
‘देखाइदियौं’ भन्ने प्रतिपक्ष र ‘३० दलले गरेको शक्ति प्रदर्शन हामी एक्लैले गरेर देखाइदिन्छौं’ भन्ने सत्ता पक्षीय एमाले वीचको घिन लाग्दो दोहोरी कुनै पनि कोणबाट सोभनीय छैन् । सोभनीयता ‘हामी विहारी होइनौं र यि जनता विहारबाट ल्याइएका पनि होइनन्’ भन्ने मधेशवादीले पनि राखेनन् र एमाओवादी नेताहरु मात्र एमालेप्रतिको कटाक्षमा सीमित हुँदा पनि बचाएनन् । हेक्का केमा राख्न सक्नुपर्छ भने संसदवादी दलहरु सारका दृष्टिले सबै एकै ठाउँमा छन् चाहे कालो टोपी लगाको काँग्रेस होस्, चाहे दौरा सुरुवाल लगाएको एमाले वा कपाल माथि फर्काएर सुट लगाएको एमाओवादी नै किन नहोस् । यसरी हेर्दा विवाद भनिएका विषयको दुरी काँग्रेस, एमाले र एमाओवादीवीचमा खासै देखिदैन । टोपी लगाउने र नलगाउने, दौरा सुरुवाल लगाउने र नलगाउने एवं सुट लगाउने र नलगाउनेहरुको रुपमा केही न केही फरक देखिन्छ नै जुन बाहिरी आवरण मात्र हो ।
एमाओवादीले किराँतलाई अरुण पश्चिम (अरुण पूर्व पनि किराँत राज्य भन्ने संरचना अध्यावदी छ ) मात्र मानेको र कोचको पहिचान छाडेको प्रमाण १६ गते गाइएको ‘अरुण पश्चिम, मेची पूर्व हाम्रो लिम्बुवान, हाम्रो माटो’ भन्ने गीतमा मञ्चमा बस्नेहरुको ताली होइन र ? जुन सीमा काँग्रेस एमालेले रुचाएरै प्रस्ताव गरेका हुन् । कार्यक्रमको शुरुमै राष्ट्रिय गान (?) गाउनु र जुलुशमा प्रायः सबै एमाओवादी युवाहरुले राजा–रानीको प्रतिकको रुपमा स्थापित चन्द्र्र–सूर्य अंकित राष्ट्रिय झण्डा (?) बोक्नु एवं एकै पटक सँगसँगै संघीयता र अखण्डता (जुन संघीयता विराधी धारणा हो) वालासँग हात मिलाएर उनीहरुको मागलाई समर्थन गर्नु सारमा काँग्रेस, एमाले र एमाओवादी वीचमा विषय विवाद खासै छैन् भन्ने थप उदाहरण हुन् । बाहिर जे जे भनिए पनि भित्रभित्र कुर्सीको लागि राजनीतिक खिचडी पाक्दै छ । त्यसलाई औपचारिक रुप दिनैकै लागि वा एमाओवादी र मधेशवादीहरुले हारेर पनि जितेको देखाउनु पर्ने नाटकको अनिवार्य दृष्य मञ्चन भएको मात्र होइन कसरी भन्ने ?
१६ गतेको सभामा जनताको सहभागिताले माओवादी सकिएको छैन्, अझै जनसमर्थन बलियो छ भन्ने सन्देश दियो । यो सकारात्मक सन्दर्भ हो । ‘हामी काठमाडौं गइदिएर माओवादी अझैं बलियो छ भन्ने सन्देश जान्छ भने एक पटक काठमाडौं किन नजाने ?’ भन्ने सहभागीहरुको बुझाइ पनि सकारात्मक नै हो तर एक दिनको प्रदर्शनले एमाओवादी कत्रो छ भन्ने सन्देश प्रवाह हुँनै सक्दैन । कत्रो भन्ने विषयले परिणाम खोज्छ । परिणाम कि सडकमा उत्रिएको जनबललाई जनआन्दोलनमा उठाउन सक्दा निस्कन्छ कि यो जनसमर्थनले व्यालेटमा बदलेर औपचारिक जनमतमा फेर्न सक्दा निस्कन्छ जुन एमाओवादीको योजना र कावुमा नभएको विषय हो । माथिका दुई सन्दर्भसँग साइनो नजोडिएको शक्ति प्रदर्शन सामान्य अर्थको जुलुश र सभामा सीमित हुने हो, जो फागुन १६ गते भयो । जहाँ प्रचण्डले आफू नझुक्ने वरु मर्न तयार हुने भन्ने विषय जोड दिएर राखे, जुन अभिव्यक्तिसँग राजनीतिक सारतत्व थिएन । केही दिन अघि ‘मेरो ज्यान खतरामा छ’ भनेर थप सुरक्षा दिने फेरि मर्न तयार भएको कुरा दोहोरयाउने । संगति नमिलेको कुरा बोल्ने बानी भएका प्रचण्डले झुक्दिन भन्नुको अर्थ हारेर पनि जितेको देखाउनका लागि एउटा औपचारिक सहमति सत्तापक्षसँग हुँदैछ भन्ने लुकेको सन्देश राम्रैसँग प्रवाह गरे । यसैमा टेकेर एमाओवादीले एक थान संविधान ल्याउन सत्ता साझेदारी गर्दैछ भन्ने विषय सहज बुझ्न सकिन्छ । सायद यसैको प्रभाव होला, एमाओवादी सत्ता साझेदारीमा आउने भएपछि एमाले सरकार छोड्ने (एमाले सजिलै सत्ता छाडिहाल्ने जात त होइन) धम्कीसहित बाहुँठिएको हुनुपर्छ । यद्यपि एमाले सत्ता भनेपछि पूर्व पञ्चलाई नेता मान्न पनि तयार हुने, एक इञ्च पछि नहटेको प्रतिगमनलाई आधा सच्चियो भन्ने र प्रधानमन्त्री पाउनको लागि हदैसम्मको हर्कत गर्ने जात भएकोले कोइराला सरकार छोडिहाल्ला भनेर पत्याउन गारो छ ।
पानी लौरे कोइराला सरकार जो संस्थागत भ्रष्टाचारमा स्वर्ण पदक जितेको छ, लाई विस्थापन गरेर आफू प्रधानमन्त्री बन्ने शेरबहादुरको महत्वकांक्षा र गतिविधि, जसरी पनि एकथान (लगभग २०४७ सालको जस्तै) संविधान ल्याएर चुनावसँगै मोदी बन्ने ओलीको कोरा दाउ, अर्को धोविघाट बन्दै छ भन्ने डर एकातिर र अर्कोतिर म मानार्थ राष्ट्रपति बन्दिन भन्दै त्यसैमा सुरक्षित हुन खोज्ने प्रचण्ड रोधन, राष्ट्रिय संयुक्त सरकारको नारा दिएर त्यसका लागि मै उपयुक्त हुँ भनेर नबोलेरै बोल्दै देश–विदेश दौडाह गर्ने बाबुराम चाल, एकाध उपप्रधानमन्त्री र मन्त्री खाने बानी परेका मधेशवादी नेताहरुको हतारो वीचको खिचातानी, लेनदेन र समिकरण नेपाली राजनीतिमा आज पाक्दै गरेको सम्भावित खिचडी हो । यदपि नेपालकै पार्टी र नेताहरुको विवेक र इच्छाले निर्णय हुँदा सम्भावनाको आंकलन गर्न सजिलो थियो तर अन्तबाटै निर्णय भएर आउने र यहाँकाले ताली मात्र हान्ने हाम्रो नियतिको कारण असम्भव समिकरण पनि सम्भव हुने गर्दछ । यसरी देश फेरि पनि विदेशीको मर्जीमा प्रयोगशाला बन्ने, जनता किनाराका सार्वभौमसत्ता बनेर हेरिरहने र दलाल पूँजीवाद स्थागत हुने प्रक्रिया अरु तीब्र हुने नै आजको नेपाली राजनीतिको नकारात्मक यथार्थता हो कि ?!













