२८ कात्तिक, काठमाडौं । अनलाइन सञ्चारमाध्यमको प्रभावकारिता बढेसँगैछापा सञ्चारका लोकप्रिय पत्रकारहरुले अनलाइन सञ्चारमाध्यम संचालन गर्ने क्रम बढ्दो छ । यसै क्रममा वरिष्ठ पत्रकार युवराज घिमिरेले पनि नयाँ अनलाइन सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।
सम्पादकीय स्वतन्त्रतामाथि मालिकको हस्तक्षेप बढेपछि अन्नपूर्णपोस्ट दैनिकको सम्पादकको जिम्मेवारीबाट केही समयअघि राजिनामा दिएर बाहिरिएका घिमिरेले – www.deshsanchar.com सञ्चालनमा ल्याउन लागेका हुन् ।
सिद्धान्त र वादबाट माथि उठी पत्रकारिता गर्न चाहने पत्रकारहरूका लागि र स्वतन्त्ररुपले प्रस्तुत गरिएका समाचार र विचारहरू पढ्न रुचाउने पाठकका निम्ति लक्षित गरेर अनलाइन ल्याउन लागेको बताइएको छ । पत्रकार घिमिरेले चौथो अंगका सम्पूर्ण मर्यादा कार्यान्वयन र पालना गर्ने प्रतिवद्धतासहित आफू अनलाइन पत्रकारितामा हेलिन लागेको जानकारी दिए ।
समाचार तथा विचारको प्रवाहको उद्देश्यका साथ देश सञ्चार प्रा।लि। भन्ने संस्था समेत कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको जनाइएको छ । यसको कार्यालय समेत ललितपुरको सानेपामा स्थापना गरिएको बताइएको छ । घिमिरे भन्छन् ‘‘मुलुक, डेमोक्रेसी, पत्रकारिता र पत्रकारका लागि देश सञ्चार प्रालिले कुनै पनि राजनीतिक सिद्धान्त, विचार र वादबाट माथि उठेर भूमिका निर्वाह गर्नेछ ।’’
अनलाइन सञ्चालनका लागि रवीन दाहालले अग्रसरता लिएका छन् । बालकल्याण विद्या मन्दिरका प्रधानाचार्य समेत रहेका दाहाललाई अध्यक्ष रहेका छन् ।













