
रेणुको गलामा सयपत्री फूलको माला थियो । निधारमा चन्दन र रातो टीका थियो । धार्मिक भ्रमणमा भए पनि सहयोगीसहित थिइन् उनी । ती सहयोगीमध्ये बिहारका विधायक पनि थिए ।
महाशिवरात्रीमा पशुपतिको दर्शन गर्ने उद्देश्यले काठमाडौं उत्रेकी रेणु दर्शनपछि निकै उत्साही देखिन्थिन् । जोसका साथ क्लबको मञ्चमा भाषण गर्ने क्रममा उनले एकाएक विवादास्पद अभिव्यक्ति दिन थालिन् ।
जातीय पहिचानसहितको राज्य र धर्मनिरपेक्ष कि सापेक्षको मुद्दाले नेपालको संविधान निर्माण प्रक्रिया अन्योलमा परिरहेका बेला त्यही सेरोफेरोमा रेणुका भनाइहरु छताछुल्ल भए ।
मन्तव्य सकेर प्रश्नोत्तर शुरू नहुँदै उनले पुनः भनिन्, ‘मलाई विवादमा आउने कुरा नबोल्न भन्छन्, तर यथार्थ जे छ, त्यही बोल्छु ।’ उपाध्यक्ष रेणुले भाजपाको आधिकारिक लाइनभन्दा बाहिर गएर बोलिन् होला भन्ने पत्याउन गार्हो पर्छ ।
भारतको सत्तारूढ दलको उपाध्यक्षजस्तो पदमा रहेकी नेतृको अभिव्यक्तिलाई भारतीय दुतावासले भनेजसरी सहजै ‘व्यक्तिगत’ मान्न सकिन्न । भलै पत्रकारसँगको प्रश्नोत्तरका क्रममा उनले बोलेको विषय अहिले विवादमा परेको किन नहोस् । यथार्थमा उनको अभिव्यक्ति भारतीय जनता पार्टीको आधिकारिक धारणा नै हो ।
भाजपाले अझै खण्डन गरेको छैन
भाजपाले रेणुदेवीको अभिव्यक्तिबारे कुनै खण्डन गरेको छैन । तर, भारतीय राजदूतावासले प्रेस वक्तव्यमार्फत रेणुदेवीको विचारले भारत सरकारको नीति प्रतिविम्वित नगर्ने उल्लेख गरेको छ । रेणुदेवीको वक्तव्यहरूको सम्बन्धमा भारतीय राजदूतावासलाई जानकारी नभएको समेत भनिएको छ ।
दूतावासको प्रेस वक्तव्यले भारतीय जनता पार्टी र भारत सरकारको नीति एउटै छैन कि भन्ने आशंका उब्जिएको छ । भाजपाले रेणुदेवीको अभिव्यक्तिबारे औपचारिक रूपमा खण्डन नगरेसम्म पत्रकार जगतले धारणा बाझिएको बुझ्नेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा जे चाहन्छन्, त्यो भारतीय कर्मचारीतन्त्रको चाहनाभन्दा फरक रहेको चर्चा चलिरहँदा दुतावासले गरेको रेणुदेवीको अभिव्यक्तिको खण्डनले नेपालीहरुको आशंकालाई बल पुर्याएको छ ।
रणुदेवीले किन बोलिन् ?
रेणुदेवीले मन्तव्यको प्रारम्भमा नेपालमा समयमा संविधान निर्माण गर्न आग्रह गर्दै यहाँको दिगो विकासमा केन्द्रित हुन जोड दिइन् । संविधान नबनेसम्म नेपाल अगाडि बढ्न नसक्ने भन्दै नेताहरूलाई नअल्मलिन सुझाव दिइन् ।
मन्तव्य सक्नेवित्तिकै क्लबका अध्यक्ष ऋषि धमलाले फ्लोर ओपन गरे । नेपाल बसाईंका क्रममा क्लबमा पुगिरहने पंक्तिकार पनि रेणुदेवीको अभिव्यक्ति सुनिरहेथ्यो । धमलाले पंक्तिकारलाई प्रश्नका लागि आग्रह गरेपछि यो पंक्तिकारले दुईवटा प्रश्न गर्यो : एक- नेपालमा जातीय पहिचानसहितको राज्यको माग उठिरहँदा भारतको औपचारिक धारणा के हो ? दोस्रो- के भारत नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ ?
रणुदेवीले जातीय राज्यको मागको आलोचना गर्दै त्यसले नेपालको विनाश हुने खतरा औंल्याइन् । जातीय मुद्दामा नअल्मलिन सुझाव दिइन् । नेपाल विगतमा पनि हिन्दु राज्य रहेको, अहिले पनि हिन्दु राज्य नै रहेको र भोलि पनि रहने अभिव्यक्ति दिइन् ।
हिन्दुको अर्थ संस्कार, सहिष्णुता र परम्परा हो भन्दै नेपालले यस्तो संस्कार अबलम्बन गरिरहेको बताइन् ।
पंक्तिकारले प्रतिप्रश्न गर्दै सोध्यो- मधेसी समुदायले आफ्नो अधिकारका लागि आवाज उठाइरहँदा मधेससँग सीमा जोडिएको बिहारकी बासिन्दा हुनुका नाताले के भन्नुहुन्छ ?
रेणुको उत्तर थियो– मलाई नेपाली थाहा छ, कुनै एक जाति वा समुदाय विशेषको कुरा नगर्नुहोस् । नेपालको विकास र प्रगति सबैले मिलेर गर्नुहोस् । कुनै एक जाति वा समुदायको कुरामा अल्मलिएर नेपालको हित हुँदैन । नेपाललाई बनाउने हो भने सबै नेपालीले एकसाथ हात उठाएर बढ्नुपर्छ ।
जातीयताको राजनीतिले कसैको हित नहुने उनको तर्क थियो ।
भारतको दोहोरो भूमिका
भारतीय नेतादेखि कर्मचारीसम्मले कुटनीतिक मर्यादा तोडेर अभिव्यक्ति दिनु नौलो रहेन । रेणुदेवीको अभिव्यक्तिले पनि कुटनीतिक मर्यादा नाघेका छन् । नेपालमा यो वा त्यो हुनुपर्छ भन्ने प्रकारको अभिव्यक्ति दिइन् । बन्द कोठामा बसेर बलिया देशका नेताले कमजोर देशका नेतालाई यो या त्यो गर भन्छन् ।
नेपालको राजनीतिमा प्रभावशाली रहँदै आएको भारतले बेला बेलामा त्यस्तै भूमिका देखाउने गरेको छ । राजनीतिक संकट र विवादका समयमा भारतीय नेता देखि दूतसम्मको बाक्लो आवत्जावत् हुनेगर्छ ।
संविधान निर्माण प्रक्रियामा दलहरूबीच विवाद उत्पन्न हुँदा भारतीय पक्षको चासो बढेको छ । भारतीय राजदूत रणजीत रेय नेताहरूसँगको भेटघाटमा सक्रिय भए । प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशसहित राष्ट्रिय सुरक्षा सल्लाहकार अजितसिंह दोभल आए । उनको साथमा भाजपा उपाध्यक्ष भगतसिंह कोसियारी रहेबाट मोदीनिकटस्थहरू नेपालको राजनीतिक अवस्थाबारे नेताहरूसँग छुट्टाछुट्टै.वन टु वन कुरा गर्ने निष्कर्षमा पुगेको हुनुपर्छ ।
अहिले कसको लाइन के हो भन्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लाइनमा दोभलले छलफल गरेर सन्देश पुर्याउलान् । नेपालको यथार्थ घटनाक्रमबारे दिल्लीमा सही सूचना नपुग्ने गरेको सवाल उठेपछि दोभल सीधा कुरा गर्न आएको बुझिएको छ । दोभलको भ्रमणले नयाँ सम्भावना जन्माउन सक्छ ।
दूतावास कर्मचारीसँग मोदीको अविश्वास
मोदीले काग्रेस आई नेतृत्वको सरकारका पालामा बढुवा भएका दुईजना सचिवलाई पदबाट हटाए । विदेश सचिव सुजाता सिंहलाई कार्यकाल छँदै हटाएर सुब्रमण्यम जयंशकरलाई ल्याए । गृहसचिव अनिल गोस्वामी राजीनामाका लागि बाध्य पारिए । यसबाट मोदीको उच्च तहका केही कर्मचारीहरूप्रतिको असन्तुष्टि मुखरित भयो ।
नेपाल मामलामा पनि दूतावासका कर्मचारीहरूप्रतिको असन्तुष्ट चर्चामा छ । सार्क शिखर सम्मेलनताका स्थलमार्ग हुँदै जनकपुर प्रवेश गर्ने निर्णयपछि कर्मचारीवृत्तको खल्बली पैदा भएको अभिव्यक्ति स्वयं मोदीले सार्वजनिकरूपमा दिएका थिए । नेपाल मामलामा यथार्थ सूचना नपुगिरहेकोतर्फ मोदीलाई भेटेरै केही विज्ञहरूले गुनासो गरेबाट उनी सचेत भएका छन् । नेपाल मामलामा आफैंले बढी चासो लिएर काम गर्ने पहल गरिरहेको देखिन्छ । अहिले काठमाडौंमा देखिएको बिजेपी नेताहरुको भीडले यही संकेत गर्छ ।













