२८ असार, काठमाडौं । पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन तथा उच्चस्तरीय सरकारी अधिकारीबीचको संवादलाई थप घनिभूत तुल्याउन यसै साता नेपाल–अष्ट्रेलिया परामर्श संयन्त्र स्थापना हुने भएको छ ।
नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५७ वर्षपछि आपसी हित र चासोका विषयमा नियमित परामर्शका लागि दुवै देशले औपचारिक रुपमा त्यस्तो संयन्त्र स्थापनामा सहमति जनाएका हुन् ।
नेपाल विश्व सम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध र भावी दृष्टिकोण’ विषयक छलफलमा नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर ग्रेमे बडले यसै साता क्यानबेरामा अष्ट्रेलिया र नेपालले परामर्श संयन्त्र गठनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको बताए ।
परामर्श संयन्त्र स्थापनाबाट दुई देशबीचको सम्बन्धमा नयाँ आधार निर्माण हुनुका साथै त्यसले पारस्परिक सम्बन्धलाई थप परिपक्व तुल्याएको दर्शाउँछ भन्दै उनले उक्त संयन्त्र जलवायु परिवर्तन, व्यापार तथा लगानी, क्षेत्रीय सुरक्षा र शरणार्थी समस्या, आपसी चासोका क्षेत्रीय एवम् विश्वव्यापी मुद्दाबारे छलफल गर्न महत्वपूर्ण स्थल बन्ने बताए ।
संघीय प्रणालीको अभ्यास अंगिकार गरेको नेपाललाई उसको राष्ट्रिय जलस्रोत नीति निर्माण तथा कार्यान्वयनमा अष्ट्रेलियाली सहयोग रहने बताउँदै राजदूत बडले नेपालको शिक्षा, स्वास्थ्य, जलविद्युत्, दिगो वन व्यवस्थापन, नागरिक उड्डयन, पशुपालन, अन्न भण्डारण व्यवस्थापनमा मद्दत गर्दै आएको जानकारी दिए ।
सन् २०१७ मा आफ्नो मुलुकले औपचारिक विकास सहायताअन्तर्गत ३ करोड ४० लाख अमेरिकी डलर प्रदान गर्ने जानकारी दिँदै उनले उक्त सहायता शिक्षा, रोजगारी, वित्त व्यवस्थापनलगायत क्षेत्रमा केन्द्रित हुने बताए ।
सन् २०२२ सम्ममा नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने नेपाल सरकारको आकांक्षा पूरा गर्न नेपाल सरकारसँग सहकार्य गर्दै आफ्नो देशका लगानीकर्ताको आत्मविश्वास जगाउन र नेपालको आर्थिक वृद्धि बढाउन अष्ट्रेलिया प्रतिबद्ध रहेको उनले बताए ।
त्यसअवसरमा परिषद्का अध्यक्ष हेमन्त खरेल र महासचिव असिम थापाले नेपाल–अष्ट्रेलिया सम्बन्धका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।














