३ पुस, काठमाडौं । देश तथा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि कांग्रेस नेताहरूबीच परिणामका लागि को दोषी भन्ने विषयमा आरोप–प्रत्यारोप सुरु भएको छ ।
निर्वाचनअघि अप्रत्याशित परिणामको अपेक्षासम्म नगरेका नेताहरू परिणाम सार्वजनिक भएलगत्तै आरोप–प्रत्यारोपमा उत्रिएका हुन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सिद्धान्तमा विजय भएर पनि निर्वाचनमा पराजित हुनुको कारण खोज्न नेतृत्वले आनाकानी गरेको भन्दै नेतृत्वले जवाफ दिनुपर्ने बताए ।‘पार्टीले सिद्धान्तमा जित्यो तर निर्वाचनमा हार बेहोर्नुप¥यो, यसको जवाफ नेतृत्वले दिनुपर्छ,’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।
केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन समितिका संयोजक रमेश रिजाल भने निर्वाचनको परिणामपछि नेतृत्वलाई आरोप लगाउन नमिल्ने पक्षमा छन् ।
पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसले नराम्रै परिणाम आउँदा पनि दोस्रो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको उदाहरण रहेको भन्दै अत्तालिएर नेतृत्वमाथि आरोप लगाउनु जायज नहुने नेता रिजाल बताउँछन् ।, यो खबर आजको राजधानीले लेखेको छ ।













