२५ साउन, काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन स्थगित भएको छ । अदालतले तत्काल निर्वाचनका सम्पुर्ण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन समितीले अर्को सुचना प्रकाशित नभए सम्मका लागि निर्वाचनका कार्यक्रम स्थगित गरेको छ ।
एनआरएन अमेरिकाको आसन्न निर्वाचनको विषयमा टेनेसी अदालतले तत्कालको लागि निर्वाचन गर्न प्रतिवन्ध लगाएको छ । अदालतले अगस्त ८ तारिखमा गरेको आफ्नो निर्णयमा भनेको छ, ‘अदालतमा विचाराधिन रहेको निर्वाचन सम्वन्धि विषयमा गैर आवासीय नेपाली संघ,अमेरिकाको निर्धारित मिति अगष्ट ११ र १२ तारिखको निर्वाचन यथास्थितिमा र प्रतिवन्धात्मक व्यवस्था अनुसार सञ्चालन नगर्न निर्देशन दिन्छौं ।’
अध्यक्षका प्रत्यासी गौरी जोशी र महासचिवका उम्मेदवार पूर्णचन्द्र बानियाले आफुहरुको नाम उम्मेद्वारी सूचीमा समावेश नगरेको भन्दै निर्वाचन आयोगका विरुद्ध अन्तरिम आदेश जारी गर्न निवेदन दिएका थिए ।
आगामी अगष्ट ११ र १२ मा हुने एनआरएन अमेरिकाको निर्वाचन तय भएको थियो भने अन्तिम तयारी भै रहेको बेला यस्तो आदेश अदालत बाट आएको हो । अगस्त ८ तारिख साँझ उनले आफ्नो छापा बिज्ञप्ति निकाल्दै आफ्नो उम्मेदवारीको बैधानिकतालाई लिएर अनेक प्रश्नहरु उठाइए र अनावश्यक विवाद सृजना गरिएको जनाएका छन् ।
यसै गरि एनआरएन आइसीसीले एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार गौरी जोशीको उम्मेद्वारीको योग्यता बारे छानबीन गर्न गठित समितिले जोशीलाई उम्मेद्वारीबाट बन्चित गर्नुपर्ने कुनै कारण नरहेको प्रतिवेदन पेश गरेको छ । समितिले पेश गरेको प्रतिवेदनलाई आइसीसी सचिवालय बैठकले अनुमोदन गरेको छ ।














