१९, वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजीले प्रधानन्यायधीश सुशीला कार्कीविरुद्धको महाअभियोग भविष्यमा हुने फैसलाको आशंकाका आधारमा ल्याइएको भन्दै आफ्नै पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् । उनले सोमबारको पार्टी बैठकमा राखेको आफ्नो धारणामा पार्टी पद्धतिलाई समेत लत्याएर प्रस्ताव ल्याइएको भन्दै फिर्ता लिन समेत माग गरेका छन् । आफूले पार्टी बैठकमा राखेका कुरा नेता श्रेष्ठले यसरी हुबहु आज सार्वजनिक गरेका छन् । उनको सो विचार हामीले यहाँ जस्ताको तस्तै प्रस्तुत गरेका छौं :
हिजो बसेको हाम्रो पार्टीको केन्द्रीय कार्यालयको बैठकमा प्रधान न्यायाधीश सुशीला कार्की को बिरुद्ध दर्ता गरिएको “महाभियोग“प्रस्ताव का बारेमा गम्भीर छलफल भयो।
बैठकमा मैले निम्न बिचार राखें ।
१)संबिधानमा महाभियोग प्रस्ताव को प्राबधान निश्चित अर्थ र मर्म का साथ राखिएको छ ।यो प्रस्ताव त्यस अनुरूप छैन । प्रधान न्यायाधीश कार्की का कतिपय कार्यशैली र निर्णय हरू गलत होलान्। आई जी पी प्रकरण मा गरिएको फÞैसला ले कार्यपालिकाको क्षेत्राधिकार माथि आँच पुर्यायो भन्ने कुरा पनि नआएको होइन । यस्ता कुराहरुप्रति असहमति र आलोचना हुन सक्छन । तर, उहाँको मुख्य प्रवृत्ति स्वच्छ, निष्ठावान, स्वाभिमानी, निडर र व्यवसायिक ब्यक्तित्व हो । त्यस्तो व्यक्तिमाथि भविष्यमा हुने कुनै फैसलाको आशंकाको आधारमा महाभियोग प्रस्ताब ल्याउनु उपयुक्त होइन । हामीले गरेको संघर्ष तात्कालिन राजनैतिक स्वार्थका लागि मात्र होइन ,बरु लोकतान्त्रिक तथा प्रगतिशील मूल्य, मान्यता र संस्कृति सहितको उन्नत समाज निर्माण का लागि हो ।
२) तात्कालिन राजनैतिक परिस्थितिको सन्दर्भमा त झन यो उपयुक्त कÞदम हुनै सक्दैन । यसले आजको राष्ट्रिय राजनैतिक कार्यभार पूरा गर्न सबै राजनैतिक र सामाजिक शक्तिहरूलाई अझ एकताबद्ध गरेर अघि बढ्नु पर्ने आवश्यकतालाई सहयोग होइन, कमजोर बनाउँछ ।
३) यस्तो महत्वपूर्ण निर्णय लिँदा पार्टीमा कहीं कतै छलफल समेत गरिएन । यसरी यो निर्णय लिँदा सङ्गठनको विधि, पद्धति एवं संस्थागतताको पनि उलंघन भएको छ ।
तसर्थ यो कदम गलत छ र फिर्ता लिइनुपर्दछ ।














