९ भदौ, काठमाडौं । गरिबी निवारण कोषले आर्थिक वर्षमा ५८ वटा जिल्ला लाई केन्द्रीत गरेर ३ अर्ब ८२ करोड २८ लाख रुपैयाँ लगानी गर्ने भएको छ । कोषले नियमिततर्फ ५५ र सिर्जनशीलतर्फ ३ जिल्लामा गरी ५८ जिल्लामा लगानी गर्न लागेको हो ।
कोषले यस बजेट अन्तर्गत २५ सय ६२ आय आर्जन, २ सय ८ सामुदायिक तथा भौतिक पूर्वाधार परियोजना, ७० पकेट क्षेत्र विकास र ६० सहकारी संस्था सञ्चालनलगायतका कार्यक्रममा सहयोग गर्ने बताएको छ ।
त्यसैगरी, कोषले भूकम्प प्रभावित १३ वटा जिल्लामा पनि पुनर्निर्माण वर्षकारुपमा प्राथमिकताका साथ कार्यक्रम अगाडि बढाउने बताएको छ । ७ र ८ गते काठमाडौंमा आयोजना भएको कोषको वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा कोषका कार्यकारी निर्देशक नहकुल केसीले उक्त लगानी बारे जानकारी दिए ।
कोषले हालसम्म ५५ वटा कार्यक्रम जिल्लामा २९ हजार सामुदायिक संस्थाहरु गठन गरी ८ लाख गरिब घरधुरीलाई कार्यक्रममा समेटेको छ । कोषका कार्यक्रमबाट लाभान्वित हुने कुल सदस्यहरुमध्ये ७८ प्रतिशत महिला छन् भने जातिगत हिसावले २५ प्रतिशत जनजाति र २६ प्रतिशत दलित रहेका छन् ।