७ मंसिर, काठमाडौं । करोडौं रुपैयाँ बैंकिङ कसुर गरेर फरार रहेका दुई अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको छ । प्रुडेन्सीयल फाइनान्सका पूर्व सिइओ भक्त प्रल्हाद पाण्डेलाई पक्राउ गरेको छ। प्रुडेन्सीयल फाइनान्समा हुँदा संस्थाको संचालक समितिबाट कर्जा स्वीकृत हुनुपुर्व पाण्डेले ऋणी किश्वर ढकाललाई २ करोड ५० लाख कर्जा प्रवाह गरेका थिए।
साथै सो कर्जा चुक्ता हुनुपुर्व धितोमा रहेको जग्गा फुकुवा गरेको उनीमाथि आरोप लागेको छ। धितोमा रहेको जग्गा फुकुवा गरी कर्जा असुरक्षित बनाएर संस्थालाई नोक्सानी पुर्याएको उनीमाथि आरोप लागेको छ। साथै पाण्डेले आफ्नो वित्तीय स्वार्थ रहेको फर्म कम्पनी ऋणी भैरव रोडा ढुङ्गा उद्योगलाई १ करोड ४३ लाख कर्जा प्रवाह गरेका थिए। तर त्यो रकमको सावाँ र ब्याज गरी १ करोड ५५ लाख उनले अहिलेसम्म तिरेका छैनन्।
प्रुडेन्सीयल फाइनान्समा हुँदा आर्थिक अनियमितता गरेकोले बैंकिङ कसूर गरेको अभियोगमा प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो। पाण्डेलाई कात्तिक १६ गते बुद्धनगरबाट र ऋणी किश्वर ढकाललाई भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।