गोकुल वानियाँ
२९ असार, पोखरा । पोखरामा प्रधान कार्यालय रहेको गरिमा विकास बैंक र म्याग्दीमा प्रधान कार्यालय रहेको निलगिरी विकास बैंक गाभिएर बनेको राष्ट्रिय स्तरको गरिमा विकास बैंकको एकिकृत कारोवार मंगलवारबाट सुरु भएको छ ।
मंगलवार आयोजित कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक पोखराकी निर्देशक निलम तिमल्सिनाले नयाँ बैंकको एकिकृत कारोवारको शुभारम्भ गरेकी हुन् । मर्जपछि बनेको नयाँ विकास बैंकको केन्द्रिय कार्यालय पोखराको महेन्द्रपुलमा कायम गरिएको छ । म्याग्दी सहित तीन जिल्ला कार्यक्षेत्र बनाएको निलगिरी र १० जिल्ला कार्यक्षेत्र विस्तार गरेको गरिमाको मर्जपछि एउटा एक्सटेन्सन कार्यालय सहित कुल २५ शाखा कार्यालय भएका छन् ।
गाभिएपछि बनेको नयाँ विकास बैंकको चुक्ता पूँजी ७१ करोड १० लाख रुपैया, निक्षेप ६ अर्व २० करोड तथा कर्जा लगानी ५ अर्व ५० करोड रुपैया पुगेको छ । बैंकको कुल ग्राहक संख्या एक लाख १० हजार रहेको प्रमुख कार्याकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिए । बैंकका शेयरधनी ८५ जना छन् ।
मर्जपछि बैंकको अध्यक्षमा दिलिप प्रताप खाण रहेका छन् भने ८ जनाको सञ्चालक समितिमा निलगिरीबाट ३ तथा गरिमाबाट ५ जना छन् । गएको जेठबाट मर्जर प्रक्रिया थालेका दुवै बैंकले दुई महिनामा सबै प्रक्रिया पुरा गरी एकिकृत कारोवारको अनुमति पाएका हुन् ।
बैंकका कार्याकारी अधिकृत ढकालले मर्जपछि कार्यक्षेत्र र पूँजी दुवै बढ्ने भएकाले चुनौति र अबसर दुबै रहेको भन्दै यसअघिको स्वच्छ छविलाई कायम राखी गुणस्तरिय सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाए । निक्षेपको सुरक्षा र लगानीकर्तालाई उचित प्रतिफल दिने उनले बताए । दुई बैंक गाभिएर एक भएपछि प्रतिश्पर्धात्मक क्षमतामा बृद्धि हुने र भविश्यमा विकास बैंकलाई वाणिज्य बैंकको रुपमा स्थापित गर्ने नयाँ सञ्चालक समितिको दाबि छ ।
नेपाल राष्ट्रबैंक पोखराकी निर्देशक निलम तिमल्सिनाले मर्जरको प्रभाव सकारात्मक रहेको बताईन् । बैंक तथा वित्तिय संस्थाको संख्या अत्याधिक हुदा बैकिङ्ग क्षेत्रमा जोखिम पनि बढेकाले मर्जरलाई प्रथामिकता दिईएको उनले बताईन् । मर्जरको क्रममा केहि कठिनाई आउने भएपनि मर्ज पछि संस्थागत शुसासन, निश्क्रििय कर्जाको अनुपातमा कमी, शेयर बजारको मुल्य बृद्धि तथा सञ्चालन खर्चमा कमी जस्ता सकारात्कम प्रभाब पर्ने उनले बताईन् । नेपाल राष्ट्रबैंकले मर्जर विनियमवाली २०६८ जारी गरेपछि सबैभन्दा पहिले हिमचुली विकास बैंक र विरगंज फाईनान्स गाभिएर एच एण्ड वि डेभलपमेण्ट बैक बनेको थियो । त्यसपछि अहिलेसम्म झण्डै ६८ वटा बैंक तथा वित्तिय संस्था मर्ज भईसकेका छन् भने कतिपय मर्जरको प्रक्रियामै छन् ।
पोखरामै प्रधान कार्यालय रहेका दुई वित्तिय संस्थाहरु फेवा फाइनान्स र विश्व विकास बैंक गाभिएर बनेको फेवा विकास बैंकले सोमवारबाट मात्रै संयुक्त कारोवार सुरु गरेको थियो ।