२५ साउन, काठमाडौं । निजी क्षेत्रबाट बनेको नेपालको पहिलो नेपाली चलचित्र माइतीघरका निर्देशक बिएस थापाको निधन भएको छ । भारतीय चलचित्र उद्योगमा समेत कार्यरत थापाको मुम्बइमा निधन भएको हो । वि. सं. २०२२ सालमा निर्माण प्रारम्भ भएको माइतीघरको प्रदर्शन २०२३ सालमा भएको थियो । २०२१ सालमा निर्माण प्रारम्भ भएर २०२२ सालमा प्रदर्शन भएको नेपालमा बनेको पहिलो नेपाली चलचित्र आमाभन्दा पहिले नै निर्माण सम्पन्न भएर प्रदर्शन गर्न खोजिए पनि सरकारले नै बनाएको आमा पहिले प्रदर्शन गर्नका लागि माइतीघरको प्रदर्शन पछि सारिएको थियो । चलचित्रकर्मी तथा नेपाली चलचित्रका ज्ञाता चेतन कार्कीले यसबारे उल्लेख गरेका छन् ।
माइतीघर चलचित्रमा माला सिन्हा र सिपी लोहनीले नायक र नायिकाको भूमिकामा अभिनय गरेका थिए । माइतीघरमा तत्कालीन राजा महेन्द्रले समेत गीत रचना गरेका थिए । २०२२ सालमा निर्माण भएको माइतीघरका गीतहरु अहिले पनि लोकप्रिय छन् ।
पछि थापाले कान्छी र मायाप्रिती चलचित्रको निर्देशन गरेका थिए ।














