समाचार टिप्पणी
२६ असार, काठमाडौं । न्याधीशलाई ‘श्रीमान्’ को पर्यायवाची शब्दले पुकारिन्छ । चाकडी र चाप्लुसीमा रमाउने हाम्रो समाजले न्याधीशलाई नाम भनेर सम्बोधन गर्दै अदालत बाहिर भेटिँदा समेत ‘श्रीमान्’ नै भनेर पुकार्छ । अदालतको यो अवस्थाले अदालतमा गणतन्त्र नआएको स्पष्ट पार्दछ । महिला वकिल समेत अहिलेसम्म पुरुष न्यायधीशलाई श्रीमान् भनेर सम्बोधन गर्न बाध्य छन् । केही समय पहिले न्याधीशलाई ‘श्रीमान्’ भन्न रोक लगाइयोस् भनेर सुस्त आन्दोलन समेत चल्यो । तर अब त ‘श्रीमती’ नै प्रधानन्याधीश बनेकी छिन् सुशीला कार्की । उनी ‘श्रीमान्’ हुन् या ‘श्रीमती’ ?
विषय उठ्न सक्छ महिला राष्ट्रप्रमुख बन्दा पनि राष्ट्रपति नै भनिएको छ भन्ने । तर यो विषय फरक छ । अहिले विद्या भण्डारीलाई केवल पति नभने ‘राष्ट्रपति’ भनिन्छ । तर, न्यायधीशलाई त केवल ‘श्रीमान्’ मात्रै भनिन्छ । यो विकृति सुशीला कार्कीको समयमा पनि हटेन भने राजतन्त्र कायम रहेछ भन्नेबाहेक अरु केही अर्थ लगाउन सकिँदैन ।














