२३ असार, काठमाडौं । चीनसँग भएको नेपालको पारवहन सम्झौताले रुष्ट भएको भारतले नेपाल र भारतबीच व्यापार सन्धि नवीकरण गर्न भने सहमति जनाएको छ । सन्धिको समय सात वर्ष थपेर २०२३ सम्म पुर्याउने निष्कर्षमा दुवै देशका पदाधिकारी पुगेका छन् ।
६ डिसेम्बर १९९१ मा नेपाल र भारतबीच व्यापार सन्धि भएको थियो । र त्यसपछि सन्धिको नवीकरण हुँदै आएको छ । ११ कात्तिकमा सन्धिको म्याद सकिँदै छ ।
नेपाल–भारत वाणिज्य सचिवस्तरीय इन्टरगभर्मेन्टल कमिटी ९आइजिसी० बैठकमा दुवै पक्ष सन्धि स्वतः नवीकरणको पक्षमा पुगेका हुन् । भारतको नयाँ दिल्लीमा १५ असारमा बसेको आइजिसी बैठकमा दुई देशका वाणिज्य मन्त्रालयका अधिकारीहरूले सन्धि स्वतः नवीकरणको सहमति गरेका हुन् ।
बैठकमा नेपालबाट वाणिज्यसचिव ङइन्द्र उपाध्याय र भारतबाट वाणिज्यसचिव रिता टेओटियाले नेतृत्व गरेका थिए । ‘नेपाल–भारत व्यापार सन्धि नवीकरण गर्नेमा भारतीय अधिकारीहरूसँग हाम्रो सहमति भएको छ । अन्य कुनै आकस्मिकता आएनन् भने सन्धि स्वतः नवीकरण हुनेछ,’ वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैँजूले भने, ‘भारत र हाम्रोबीचमा एकखालको समझदारी नै भएको छ । भारतीय पक्ष सकारात्मक छन् ।’आजको नयाँ पत्रिकामा समाचार छ ।
सन्धिको दफा १२ को उपदफा २ मा कुनै देशले तीन महिनाअघिसम्म लिखित प्रस्ताव नगरे सन्धि स्वतः नवीकरण हुने उल्लेख छ । नवीकरणपछि २७ अक्टोबर ०२३ सम्म व्यापार सन्धि रहनेछ । प्रजातन्त्र पुनस्र्थापनासँगै ६ डिसेम्बर १९९१ मा नेपाल र भारतबीच व्यापार सन्धि भएको थियो ।
सन्धिमा तत्कालीन वाणिज्यमन्त्री गोपालमान श्रेष्ठ र भारतका तत्कालीन वाणिज्य राज्यमन्त्री पी चिदम्बरमले हस्ताक्षर गरेका थिए । पछिल्लोपटक सन्धि २७ अक्टोबर २००९ मा नवीकरण भएको थियो । नवीकरण गरिएको सन्धिमा नेपालका तर्फबाट तत्कालीन वाणिज्यमन्त्री राजेन्द्र महतो र भारतबाट तत्कालीन वाणिज्यमन्त्री आनन्द शर्माले हस्ताक्षर गरेका थिए ।














