म अमेरिका आएको लगभग एक महिना पुग्न लाग्यो । अहिले नै मैले अमेरिकाको बारेमा केही बोल्नु हतार हुनेछ तर विभिन्न अनलाइन पोर्टलमा समय समयमा अमेरिका र अरु देशमा बसोबास गरेका नेपालीहरुले आफू बसोबास गरेको देशको नकारात्मक कुरा मात्र लेखेको देखेर केही पंक्ति कोर्ने दुस्साहस गरेको हुँ ।
सबैभन्दा पहिलो अमेरिकामा दुख छ भन्ने भनाइ लाइ लियौ, यदि काम लाई दुखको रुपमा लिने हो भने यो संसारमा कतै पनि सुख छैन।
हाम्रो देश नेपालमा श्रम गर्नेलाई अपमान र बाबुबाजेले कमाएर छोडेको सम्पत्तिमा मोज गर्नेलाई सम्मान गर्ने अनौठो र उल्टो चलन छ, तर अमेरिकामा त्यस्तो रहेनछ । श्रम गर्नेलाई सम्मान गरिँदो रहेछ । अमेरिका एउटा श्रमजीवीले दुःख गरेर आफ्नो जीवन यापन राम्रोसँग गर्न सक्छ तर नेपालमा दिनभरी घोटिँदा पनि पेटभरि खान नपाउने अवस्था छ ।
दोश्रो फुर्सत नै हुदैन भन्ने कुरामा, संसारमा कर्मयोगी मान्छे लाई फुर्सत नै हुदैन, आफ्नो काम मा व्यस्त रहेको मंछ्हे लाई अर्काको नानाथरि कुरा गर्ने न त् फुर्सतहुन्छ न त् त्यस्ता कुरामा कुनै रुचि नै हुन्छ । यो कुरा नेपाल मै रहेका मान्छे हरुमा पनि लागु हुन्छ तर त्यो मान्छे कर्मयोगी हुनुपर्छ, फुर्सत भनेको काम नभएको मान्छेहरुसंग मात्र हुन्छ चाहे त्यो अमेरिका होस् वा नेपाल ।
तेश्रो सोचेको जस्तो भएन भन्ने कुरामा, एउटा मान्छेले के सोच्छ र सोचेको जस्तो पाउछ वा पाउदैन भन्ने कुरा त्यो सन्जोग मात्र हो । साधारणतया कुनै पनि मान्छेले पाउने काम र उसले कमाउने धन भनेको उसको व्यक्तिगत योग्यता र क्षमतामा भर पर्छ अमेरीकामा मात्र होइन कि संसारको जुन सुकै कुनामा । कहिलेकाँही योग्य व्यक्तिले सानो पद र अयोग्य व्यक्तिले ठुलो पद पाउने भनेको अपबाद मात्र हो र यस्तो अमेरिकामा भन्दा नेपालमै बढी हुन्छ ।
आजसम्म मैले भेटेका अधिकांस नेपाली हरु सुख दुख गरेर आफ्नो जीवन सन्तोषजनक रुपले चलेकोमा खुशी नै रहेको पाएको छु । नेपालमा नेपाल सरकारको सहसचिब बाट अवकास लिएका देखि प्रहरी र सेनामा उच्च पदमा पुगेर अवकास जिबन बिताई रहेका र याँहा आफ्नो छोरा वा छोरी लाई भेट्न आएका हरुले पनिकिराना पसल र पेट्रोल पम्पमा “पार्ट टाइम“ काम गरेर आफ्नो खर्च आफैले आर्जन गरिरहेका छन्, मेरो बिचारमा यो कुनै कोण बाट पनि गलत काम होइन जस्तो लाग्छ ।
केहि महिना अगाडी नेपाली कांग्रेस का नेता रामचन्द्र पौडेलले अमेरिकामा सबै नेपाली भाडा माँझदा रहेछन भनेका थिए, मलाई लाग्छ उनले यो भाडा माझ्नुभनेको सानोतिनो काम लाई भनेको हुन् सक्छ, मेरो बिचारमा यदि कुनै मान्छेले इमान्दारीपूर्वक भाडा नै माझ्छ भने पनि त्यो आदर गर्न लायक कुरा हो तर पौडेलले सायद देखेनन् होला अमेरिकामा नेपालमा जस्तो परालको मस्कोले खरानी चोप्दै भाडा माझ्नु पर्दैन, कि त मेसिनले माझ्छ कि त चौबिसै घण्टा धाराबाट आउने तातो पानीले साबुन लगाएर माझछन् । कांग्रेस नेता पौडेललाई बिनम्रतापुर्बक मेरो एउटा प्रश्न छ तपाईं को छोरा वा छोरीले भाडा माझ्छन् कि माझ्दैनन् ? किनकि अमेरिकामा नेपालमा जस्तो सबैले जुठो पारेको भाडा एउटा मान्छेले माझ्ने चलन हुदैन, प्रत्येक व्यक्तिले आफुले प्रयोग गरेको जुठो भाडा आफैले माझ्ने चलन छ, घरेलु कामदार राख्न कानुनले प्रतिबन्ध लगाएको छ ।
मलाई पनि धेरै साथी वा आफन्त हरुले अमेरिकामा के गर्छस् ? भाडा माझछस् ? भनेर भनेका थिए तर मेरो एउटै जवाफ के थियो भने यदि नेपालमै पनि भाडा माझेर सन्तोषजनक रुपले आफ्नो जिबन चलाउन सकिन्छ भने म भाडा माझ्न तयार छु, नेपालमा त भाडा माझेर त् के नेपाल सरकारको अधिकृत भएर पनि आफू र आफ्नो परिवारको जीवन चलाउन कति कठिन छ त्यो मैलेभन्दा पनि जानिफकारहरुले भन्ने कुरा हो ।
अत विभिन्न कारण र प्रक्रियाले अमेरिका आएका सज्जनहरुले आफुले काम गरेर जीवन चलाएको देशमा केवल नकारात्मक कुरा गरेर आफ्नो कर्मदेशप्रति बेइमानी नगरौं, उसै पनि आफ्नो जन्मभूमि छोडेर हामीले आफ्नो देशप्रति त अन्याय गरिसकेका छौं ।
तर म व्यक्तिगत रुपमा यो कुरा स्वीकार गर्दिन । अन्तमा कुण्ड कुण्ड पानि र मुण्डमुण्ड बुद्धि भनेको जस्तो झिंगा लाई फोहर नै र मौरी लाई फूल नै मन पर्छ भनेको जस्तो म भने अमेरिका बाट सन्तुष्ट छु ।
यसको साथै हरेक बर्ष डिभी चिट्ठा भर्नेको भिड, पचासौ लाख रुपिया खर्च गरेर लड्दै पड्दै बर्षौ लगाएर अबैधानिक रुपले अमेरिका आउने र बाबु आमाको मृत्यु हुँदापनि नेपाल जान नसक्ने हरु सबै मुर्खै हुन् त ? कति लाई त् आफु अनेकौ प्रयास गर्दा पनि आउन नसकेर बिरोध गर्छन अर्थात् अमिलो अंगुर । तर यसको मतलबअमेरिकामा बस्ने सबै महान र नेपालमा बस्ने सबै तल्लोस्तर को भन्ने अर्थ नलागोस ।
दसौं वर्ष अमेरिकामा बसेर यहाँको सबै कुरा बुझेर भुक्तभोगी भएका कति सज्जनहरुले यो लेख्न अलि छिटो भयो समयक्रमले सबै कुरा थाहा पाइन्छ भनेर भन्नुहोला त्यसै कारण यी पंक्ति न त अन्तिम सत्य हो न त् म अमेरिका को बारेमा जानकार नै भएर लेखेको हुँ । यो त केवल मेरो अनुभूति हो, अन्यथा नलिइयोस् ।














