८ असार, काठमाडौं । अफगानिस्तानमा सोमबार बिहान भएको आतंककारी हमलामा मारिएका १२ नेपालीको शव आज दिउँसो नेपाल ल्याइने भएको छ । शव लिनका लागि नेपाल वयुसेवा निगमको जहाज विहानत साढे तीन बजे अफगानिस्तानको काबुल प्रस्थान गरेको छ । विमान साढे ६ बजे काबुल पुगेको छ भने शव आजै बिहान साढे ११ बजे काठमाडौं ल्याइपुर्याउने तालिका छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा परराष्ट्र मन्त्रालयमा मंगलबार बसेको बैठकले मृतकको शव नेपाल एयरलाइन्स मार्फत ल्याउने निर्णय गरेको थियो । बैठकमा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, गृह मन्त्रालयका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि लगायत सहभागी थिए ।
सामान्यतः नेपालको एयरपोर्ट बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालन हुने भए पनि विशेष परिस्थितिका कारण बिहान साढे तीन बजे जहाज उडाइएको नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।
मृतक र घाइतेलाई ल्याइने जहाजमा नेपाल फर्कन चाहने अन्य नेपालीहरुलाई पनि ल्याइनेछ । गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार नेपाल एयरलाइन्सको बोइङ जहाजले घर फर्कन चाहनेलाई ल्याउने व्यवस्था मिलाइएको छ ।
घर फर्कन चाहने नेपालीले पाकिस्तानस्थित नेपाली दूतावास अथवा पाकिस्तानबाट काबुल पुगेका कार्यबाहक राजदूतसँग सम्पर्क गर्न सक्नेछन् । पहिलो प्राथमिकता मृतकको शव र घाइते रहनेछ भने त्यसपछि घर फर्कन चाहने नेपालीलाई पनि त्यही जहाजमा ल्याइनेछ ।














