७ असार, काठमाडौं । अफगानिस्तानको काबुलमा आत्मघाती आक्रमणमा घाइते भएका दुई जना नेपालीलाई थप उपचारका लागि दिल्ली ल्याइएको छ । घाइतेमध्ये कृष्ण देउवा र मानबहादुर थापालाई दिल्ली ल्याएर एपोलो अस्पतालमा उपचारका लागि भर्ना गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए । मंगलबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दे उनले अरु घाइते तीन जनालाई ल्याउने तयारी भइरहेको र अर्का एक जनाको अवस्था गम्भीर भएकाले चिकित्सकको सुझाव अनुसार दिल्ली ल्याउने या नल्याउने भन्ने निर्णय हुने अर्यालले बताए ।

मृतक नेपालीको शव लिन जानका लागि रुट र ल्याण्डिङको विषयमा कुराकानी भइरहेको अर्यालले जानकारी दिए । टुंगो लाग्नासाथ यहाँबाट शव लिन जहाज उड्ने उनले जानकारी दिए । परराष्ट्र मन्त्रालयबाट एक, गृहमन्त्रालयबाट एक, पर्यटनबाट एक, श्रम मन्त्रालयबाट एक, नेपाली सेनाको मेडिकल टोलका चार र नेपाल प्रहरीका तीन जना अफगानिस्तान जाने तयारी भएको छ ।
प्रवक्ता पौडेलले शव काठमाडौं ल्याइसकेपछि मृतकका आफन्तले काठमाडौंमा शव बुझ्न चाहे यहीँ उपलब्ध गराउने र जिल्ला लैजान आग्रह गरे सरकारले नै जिल्ला पुर्याइदिने जानकारी दिए । प्रवक्ता पौडेलले काबुलमा रहेका अन्य नेपालीले नेपाल फर्कन चाहे विमानमा अटेसम्म नेपाल ल्याउने पनि बताए ।
पहिला बिरामीको उपचार र शव नेपाल ल्याएसकेपछि गैरकानुनी रुपमा कामदार अफगानिस्तान पठाउने कम्पनीको खोजी गरी कारबाही गर्न सरकारले सुरु गर्ने जानकारी पनि दिए । अफगानिस्तानमा औपचारिक रुपमा नगएकाहरु समेत गरी १० हजार जना नेपाली रहेको अनुमान छ । अफगानिस्तानमा नेपालको दूतावास छैन । सोमबार काबुलमा भएको आक्रमणमा १२ नेपालीको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।













