८ साउन, काठमाडौं । अब बीसौं वर्ष पुराना र सुविधाविहीन ट्याक्सीको झन्झटबाट उपभोक्ताले मुक्ति पाउने भएका छन् । काठमाडौं उपत्यकाका सडकमा अब ‘सुपर डिलक्स’ र ‘डिलक्स’ टयाक्सी गुड्ने भएका छन् । सर्वसाधारण यात्रु तथा पर्यटकलाई छनोटको अवसर दिन भन्दै सरकारले काठमाडौंमा तीनथरी टयाक्सी सञ्चालनको तयारी थालेको छ ।
भौतिक पूर्वाधार तथा यातायातसचिव तुलसीप्रसाद सिटौलाले उपत्यकामा हाल चलिरहेका साधारण टयाक्सीसहित सुपर डिलक्स र डिलक्स टयाक्सी गुड्ने बताए । छिटै नयाँ टयाक्सी दर्ता फुकुवा गर्ने निर्णय भएको उनले जानकारी दिए ।
पुराना टयाक्सी विस्थापन गर्ने तथा डिलक्ससहितको नयाँ टयाक्सी दर्ता खुलाउने मन्त्रीस्तरीय निर्णय भएको हो । सचिव सिटौलाका अनुसार २० वर्षअघिका एक हजार आठ सय ५० वटा टयाक्सीलाई नयाँ टयाक्सीले विस्थापन गरिनेछ । भूकम्पपीडितलाई पाँच सयवटा नयाँ टयाक्सी सञ्चालनको अनुमति दिइने पनि उनले जानकारी दिए ।
यसैगरी् पाँच सयवटा डिलक्स र पाँच सयवटा सुपर डिलक्स टयाक्सी सञ्चालनको अनुमति दिइने निर्णय भएको सिटौलाले जानकारी दिए । अहिले कार्यविधि निर्माण भइरहेको उल्लेख गर्दै उनले छिटै नै नयाँ टयाक्सी सञ्चालनमा आउने बताए ।
भूकम्पपीडितका लागि तोकिएको तथा डिलक्स र सुपर डिलक्स टयाक्सी सञ्चालनका लागि जुनसकै ब्रान्डका गाडी ल्याउन सकिने सचिव सिटौलाले बताए । ‘तोकिएको क्षमता भएका जुनसुकै ब्रान्डका गाडी ल्याउन सकिन्छ,’ उनले भने, ‘यात्रुले छनोटको सुविधा लिँदै आरामदायी यात्रा गर्न पाऊन् भन्ने हाम्रो चाहना हो ।’
अहिले पुराना टयाक्सी विस्थापनको काम भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुधन बुर्लाकोटीले बताए । ‘कम्तीमा २० वर्ष पुराना टयाक्सीले पुरानै नम्बरमा नयाँ टयाक्सी ल्याएर सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ,’ उनले भने, ‘केही टयाक्सी विस्थापन पनि भइसकेका छन् ।’
पुराना टयाक्सी विस्थापन गर्न ल्याइने नयाँ टयाक्सी आठ सय वा सोभन्दा बढी सिसीको हुनुपर्ने प्रावधान छ । तर, ब्रान्ड भने जुनसुकै हुन सक्ने बुर्लाकोटीले बताए ।













