२४ जेठ, काठमाडौं । सरकारले घर निर्माणमा बन्देज लगाएपछि निर्माण कार्य ठप्प भएको भन्दै उद्योगी व्यवसायीले निर्णय पुनरावलोकन गर्न दबाब दिएका छन् । भवन निर्माण गर्दा हेलचेक्र्याइँ भएकोले भूकम्पले ठूलो क्षति भएको स्पष्ट हुँदाहुँदै पनि व्यापारीहरु भने सामान बेच्न नै हतारिएका छन् ।
तर मापदण्ड र आचारसंहिता पालन गर्नेले पनि भवन निर्माण गर्न नपाउँदा समग्र निर्माण क्षेत्र ठप्प भएको र अन्तर्राष्ट्रिय समुदायमा समेत राम्रो सन्देश नगएको व्यवसायीको भनाइ छ । विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति गरेपछि सरकारले असार मसान्तसम्म नक्सापासमा रोक लगाएर निर्माणाधीन घर २ तलामाथिको बनाउन प्रतिबन्ध लगाएको थियो ।
पुननिर्माण गर्ने समयमा सरकारले घर बनाउन प्रतिबन्ध लगाउँदा सबैजसो निर्माणका काम प्रभावित भएको नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा बताउँछन् । ‘यस्तो निर्णयबाट सरकारले राजस्व गुमाउँछ, उत्पादन बजारमा नगएपछि उद्योगसमेत चल्न सक्दैन,’ उनी भन्छन्,‘सरकारले निर्णय फिर्ता लिनुपर्छ ।’ आजको कारोबार दैनिकमा खबर छ ।













