बाँके (खजुरा), ८ फागुन । बाँके जिल्लामा यस वर्ष पशुपालनअन्तर्गत गाई र बङ्गुर फार्मका लागि रु साढे २७ लाख रकम अख्तियार गरिएको छ ।


स्वरोजगार कार्यक्रमअन्तर्गत गत वर्ष बाँकेमा पशु फार्मका लागि कुनै रकम नआएपछि यस वर्ष गाई र बङ्गुर फार्मका लागि रकम अख्तियार गरिएको हो । जिल्ला पशुसेवा कार्यालय बाँकेमा कृषकहरुले गाई फार्मका लागि ४५ र बङ्गुर फार्मका लागि ४३ वटा निवेदन दिएका थिए ।
गाई फार्मका लागि रु २० लाख र बङ्गुर फार्मका लागि रु साढे सात लाख रकम अख्तियार गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । गाई फार्मका लागि छनोटमा परेकामध्ये प्रतिव्यक्तिले रु दुई लाख र बङ्गुर फार्म खोल्नेले रु एक लाखदेखि साढे दुई लाखसम्म रकम पाउने कार्यालय प्रमुख टेकनाथ आचार्यले बताउनुभयो ।
छनोटका लागि वनकटुवा, कोहलपुर र धामपुरमा मात्र अनुगमन गर्न बाँकी रहेको पनि आचार्यले बताउनुभयो । यस वर्ष जिल्लामा सहकारीखेतीअन्तर्गत बङ्गुरपालनका लागि पनि रु १६ लाख रकम विनियोजन गरिएको छ ।
गाई र बङ्गुर फार्मका लागि एकै किस्तामा रकम वितरण गरिने कार्यालयले जनाएको छ । बाँकेमा हाल १५० वटा बङ्गुर फार्म, ८० बढी गाई फार्म, ६० भैँसी फार्म र ४०० कुखुरा फार्म रहेका छन् । रासस













