सुरजहजारे दाहाल
२२ कात्तिक, इलाम । सात वर्षअगाडि इलाम जसबिरेका खड्ग ढुंगानाले लिबर्ड परियोजनाको सहयोगमा ५ वटा किवीका बेर्ना लगाएका थिए । । रोपेको ३ वर्षमा किवी फलका ५ बोटहरुमध्ये चार वटामा फूल लागे तर एउटामा लागेन अर्थात एउटा भाले निस्कियो । चारवटा पोथी बोटहरु प्रत्येकले एक सिजनमा १८५ केजी फल दिन थाले । वैशाखमा फूल फुलेर मंसिरमा पाक्ने किवी फललाई ढुंगानाले होलसेलमा २०० रुपैयाँ प्रति केजी र बोटमा एकदुई किलो लिन आउनेलाई ३०० रुपैयाँमा बेच्ने गरेका छन् ।
एउटा बोटमा १८५ केजीको दरले उनको किवी बगैंचामा हाल ७४० केजी किवी पाक्ने अवस्थामा पुग्न लागेका छन् । यो वर्ष उनले न्यूनतम होलसेल मूल्यबाट कम्तिमा पनि डेढ लाख आम्दानी गर्दैछन् । किवीको फल बाहेक कलमी गरिएका एक हजार बिरुवा पनि यिनीसँग तैयारी हालतमा छ । पहिले किवीको बिरुवालाई रु ५०० प्रतिविरुवा परे पनि हाल रु १०० मा झरेको छ । फल्न थालेपछि बोट नै ढाक्ने किवीको औषत आयु २५ वर्ष हो । एक कृषकले फल फल्न लाग्ने ३ वर्ष बाहेकका बाँकी २२ वर्षसम्म किवीबाट मनग्गे आम्दानी गर्नसक्छ ।
नेपालमा किवी फल भित्रिएको ३० वर्ष कटिसक्दा पनि थोरै नेपालीले मात्र यसलाई खाएका छन् । हेर्दा ठूलो आलु जस्तो देखिने खैरो रंगको किवीमा मसिना नबिझाउने झुुस हुन्छन् । छिप्पिई सकेपछि किवीलाई टिपेर राखिन्छ र गिलो भएपछि यसलाई खाने गरिन्छ । इलाममा चियाको बोटसँगै त्यसमाथि माच बनाएर किवीको खेती गरेको देख्न पाइन्छ । तालिम लिएर किवी खेती गरेका ढुंगानाले इलाममा करिब ७ हजार कृषकले किवी खेती गरिरहेको बताए । उनका अनुसार इलाममा गत साल ३५ हजार केजी किवीको उत्पादन भएको थियो ।
इलाममा फलेका किवीले भाटभटेनी जस्ता चेन सुपर मार्केटमा भने ठाउँ पाएका छैनन् । काठमाण्डौ र पोखरा पुग्दा ढुवानी खर्च सहित करिब रु ३५० पर्ने किवीको सट्टा नेपाली किवीको सिजनमा पनि न्यूजिल्याण्डबाट आयत गरिएको किवीलाई नै सुपर मार्केटले प्राथमिकतामा राखेको छ । दई वर्ष यता भने प्रत्येक पुसमा आयोजना हुने पोखराको औद्योगिक मेलाको स्टलमा किवी राख्ने गरिएको छ ।
नेपालमा किवी
किवी पहाडी फल भएकोले नेपालमा यसको खेती १२०० मिटरदेखि ३००० मिटरसम्म गर्न सकिन्छ । इलाम जिल्लाजस्तो बढी ओसिलो हुने ठाँउ किवीको लागि उपयुक्त हुन्छ । सुन्तला लगाइने उचाइभन्दा अलि माथि किवीको व्यवसायिक खेती गर्न थालिएको छ । निर्वाहमुखी अन्नहरु जस्तै कोदो तथा गहुँको ठाउँमा किवी रोपेमा यसलाई अन्न जस्तो बढी स्याहार गरिरहनुपर्दैन । तराईका सिटिसी चिया, सूर्ती, उखु जस्तै किवीलाई पहाडको नगदेबाली भन्दा अनपुयुक्त नहोला । किवीको खेती हाल इलामको सुलबुङ तथा जसबिरे, दोलखाको जिरी र चरिकोट, मकावनपुरको दामन फार्म, नुवाकोटको ककनी, काभ्रेको पातले खेत, रामेछापको दोरम्बामा गरिएको छ । काठमाडौंका पहाडी क्षेत्रमा पनि किवीको व्यवसायिक खेती गर्ने क्रमको सुरुवात भैसकेको छ ।
किवीका फाइदा
भनिन्छ विभिन्न १५ फलहरुमा पाइने पोषण एउटै किवीमा हुन्छ । किवी फल अमिलो फलको प्रजातिमा पर्ने भएकोले यसमा भिटामिन सी प्रचुर मात्रामा हुन्छ । यसमा भिटामिन ई र एन्टीअक्सिडेन्ट पनि हुने भएकोले यसले छालाका कोषलाई लामो समयसम्म जवान राख्ने गर्छ । यसले प्राकृतिक रुपमा नै एन्टीएजिङको काम गर्छ अर्थात बुढ्यौलीलाई पर सार्ने गर्छ । यो गुलियो हुन्छ तर स्वस्थ्य व्यक्तिले खाएमा भविष्यमा डायबेटिज हुने खतरा कम हुन्छ किनकी यसमा ग्लाइकेमिक इन्डेक्सको मात्रा कम हुन्छ । गर्भवती महिलालाई फोलिक एसिड महत्वपूर्ण भएकोले किवीले यसको पूर्ति गर्ने गर्छ । किवी काटेर हेर्दा यसमा नाङ्गो आँखाले रेसा देखिन्छ अर्थात यो फाइबरले भरिपूर्ण फल भएकोले यो सजिलै पच्नुका साथै पाचन क्षमता बढाँउछ । यसमा पोटासियम पनि हुने भएकाले शरीरका हाडलाई बलियो बनाउँछ ।
किवीको रोचक पक्ष
किवी न्यूजिल्याण्डाको रैथाने चराको नाम हो र यसै नामबाट किवी फलको नाम राखिए पनि वास्तवमा किवी फल चीनको रैथाने फल हो । युरोपेलीहरुलेले यसलाई सुरुमा चिनियाँ गुजबेरी भन्ने गर्थे तर न्यूजिल्याण्डले सन् १९६२ मा यसको व्यवसायिक खेती गरी यसलाई निर्यात गर्दा किवी नाम दिएपछि यो चिनिया फल विश्वभरि किवी नामले प्रसिद्ध भएको हो ।