२३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७० औं जन्मदिन मनाएका छन् । पूर्वराजा ज्ञानेन्द्रले काठमाडौंको महाराजगञ्जस्थित निर्मल निवासमा विहीवार शुभेच्छुकहरुकाबीच ७० औं जन्मदिन मनाएका हुन् ।
तत्कालीन राजा ज्ञानेन्द्रले राजगद्दी छाडेको ८ वर्ष पूरा भएको छ । पहिलो संविधानसभाको पहिलो बैठकले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरी ज्ञानेन्द्रलाई नागरिक बनाएको थियो ।
यद्यपि पूर्वराजा ज्ञानेन्द्रलाई जन्मदिनको शुभकामना दिन विहीवार सयौं शुभेच्छुकहरु निर्मल निवास पुगेका थिए ।
निर्मल निवास पुग्ने सयौंको सूचीमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा पनि थिए । मन्त्री थापा पूर्वराजा ज्ञानेन्द्रलाई पुष्पगुच्छासहित शुभकामना दिएर निर्मल निवासबाट फर्केका थिए । पुष्पगुच्छा लिने क्रममा पूर्वराजा ज्ञानेन्द्रले मुस्कुराउँदै मन्त्री थापालाई धाप मारेका थिए । मन्त्री थापा अध्यक्ष रहेको राप्रपा नेपालले राजसंस्थाको वकालत गर्दै आएको छ ।
राप्रपा नेपालका तर्फबाट सरकारमा सहभागी भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बा तथा राप्रपा नेपालका अधिकांश सांसद् पनि निर्मल निवासमा पुगेका थिए । गणतन्त्रात्मक संविधान कार्यान्वयनका लागि सरकारको उपप्रधानमन्त्री थापाले राजतन्त्रको वकालत गरिहेकाले उनलाई कारवाही गर्नुपर्ने माग उठिरहेको छ ।













