१७ असार, काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब फेसबुक र युट्युब चलाउन नपाइने भएको छ । प्रधानमन्त्री केपी ओलीको सिधा निर्देशनमा विमानस्थलका अध्यागमन कक्षमा मा फेसबुक र युट्युब चलाउन रोक लगाइएको हो । तर यो रोक यात्रुहरुका लागि नभएर आगवागमन र प्रस्थान दुवै तर्फ काम गर्ने कर्मचारीका लागि मात्र हो ।
केही दिनअघि अध्यागमनका कर्मचारीले कम्प्युटरमा फेसबुक चलाएको फोटो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा फेसबुक र युट्युब बन्द गरिएको विमानस्थल अध्यागमन विभागका निमित्त प्रमुख उद्धवप्रसाद तिमल्सिनाले बताएका छन्।
‘हामीले असार ७ गतेदेखि विमानस्थलको अध्यागमन अन्तर्गत आवागमन र प्रस्थान दुबैतर्फ सामाजिक सञ्जाल फेसबुक र युट्युव बन्द गराएका छौ,’ उनले भने,‘ प्रधानमन्त्रीले हामीलाई सामाजिक सञ्जालमा आएको एउटा फोटोबारे जवाफ माग्नु भएको थियो, त्यसैको जवाफमा हामीले कार्यालयमा भएका सबै कम्प्युटरमा बन्द गरेका हौ।’
यद्यपी उनले यात्रुहरूका लागि भने कुनै बन्देज नरहेको स्पष्ट पारे। विमानस्थलजस्तो संवेदनशील स्थानमा समेत कर्मचारीहरु फेसबुक चलाएर यात्रुप्रति असहिष्णु देखिएको भन्दै समाचारहरु समेत आएका थिए ।













