विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।
हरेक वर्ष जुन १४ मा मनाइने रक्तदाता दिवसमा यस वर्ष ‘रक्तदान गरौ जीवन बाँडौं’ भन्ने नाराका साथ मनाइएको हो । रक्तदात दिवसको अवसरमा ब्लड डोनर्स एशोसियसनले काठमाण्डौंमा गरेको कार्यक्रममा वर्षभरी रक्तदान गरेका विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मान गरीयो ।
कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक जनाको रगतले बिरामीको ज्यान बच्न सक्ने भएकाले रगत दान गर्न सबैलाई प्रेरित गर्नुपर्ने बताए । उनले रगत दानले एक अर्कामा आत्मियता बढाउने भएकाले समाजमा यसप्रति सचेतना फैलाउन जरुरी रहेको बताए ।
मानिसको शरीरमा हुने रगतका विभिन्न समुहको पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डरस्टिनरको जन्मदिनको अवसर पारेर सन् २००४ देखि हरेक वर्ष जुन १४ मा यो दिवस मनाउन थालिएको हो । मानव शरीरका कोषलाई जीवित राख्न, शरीरलाई वृद्धि विकास गर्न रगतको महत्वपूर्ण भूमिका हुन्छ । हरेक स्वस्थ्य मानिसको शरीरमा ५.५ लिटर रगत रहेको हुन्छ । यसरी शरीरमा भएको रगतको एक सय २० दिनसम्म आयु हुन्छ । पुन यो चक्र दोहोरीएर एक सय २० दिनपछि शरीरमा नयाँ रगको उत्पादन हुन्छ । यसअर्थ पनि रक्तदान गर्दा शरीरमा कुनै हानी नपुग्ने चिकित्सकहरुको भनाइ छ ।













