११ माघ, अमेरिका । अमेरिकामा रहेका नेपाली बालबालिकासम्बन्धि वृत्तचित्र ‘नेप्लिज चिल्ड्रेन इन अमेरिका’ यतिवेला छायाङ्कन भैरहेको छ । माउण्टेन मेगा मुभिजले अमेरिकामा बसिरहेका नेपाली बालबालिकाको अवस्था, शिक्षा, स्वास्थ्य लगायतका विषयमा वृत्तचित्र निर्माण गर्न लागेको हो ।
वृत्तचित्र छायाङ्कनका लागि हालै अमेरिका पुगेका वृत्तचित्र निर्देशक राजेन्द्र केसी र निर्माता बिबी बोहोराले वासिङ्टन डिसीको छायाङ्कन सकिएको जानकारी नेपालदेश डटकमलाई दिए । वासिङटन डिसीमा वृत्तचित्र छायाङ्कन गरेर न्युयोर्कतर्फ छायाङ्कनका लागि प्रस्थान गरिएको जानकारी निर्देशक केसीले दिए । अमेरिकामा हालै भएको हिमपातका कारण वृत्तचित्र छायाङ्कन गर्न कठिनाइ भइरहेको समेत उनले बताए । पूर्वसांसद नेत्रलाल श्रेष्ठ र इञ्जिनियर विजया केसीले सहयोग गरिरहेकोले कठिनाइका बीच पनि आफूहरु वृत्तचित्र छायाङ्न गर्न सफल भैरहेको निर्देशक केसी र निर्माता बोहोराको भनाइ छ । वृत्तचित्रको स्क्रिप्ट समेत अमेरिकामै रहेकी विजया केसीको रहेको छ भने पूर्वसांसद श्रेष्ठ कार्यकारी निर्माता समेत हुन् ।

नेपालका वादी समुदायका बालबालिकाको अवस्थाबारे यसअघि नै वृत्तचित्र निर्माण गरेका निर्देशक केसीले यार्सागुम्बा हिडन् पार्ट नामक कथानक चलचित्र समेत निर्देशन गरिसकेका छन् । क्रन्दन चापागाईले रचना गरेको तथा अञ्जु पन्त र स्वरुपराज आचार्यले स्वर दिएको राष्ट्रिय गीत ‘म हुँ नेपालको छोरो….’ को म्युजिक भिडियो निर्देशन गरेको केही समयमै निर्देशक केसी वृत्तचित्र निर्माणतिर लागेका हुन् ।

विकसित देशका बालबालिकाले रोबोट समेत आविष्कार गरेका प्रेरणादायी खबरले आफू यस्तो वृत्तचित्र निर्माण गर्न प्रेरित भएको केसीले बताए । वृत्तचित्र प्रदर्शनबाट उठेको रकम सल्यान जिल्लाका वादी बालबालिकाको सहयोगमा खर्च गरिने निर्माता बोहोराले जानकारी दिए ।













