- २०६४ यताकै बढी प्रतिशत मत अहिलेको चुनावमा
१ पुस, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसँग छलफल सुरु गरेका छन्। प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा पार्टी नराम्रोसँग पराजय भएपछि कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको माग उठेपछि देउवाले महासमिति बैठक बोलाउनेबारे छलफल गरेका हुन्।
देउवाले महासमिति बैठक बोलाउने तयारी गरिरहेको उनी निकट नेता बालकष्ण खाँडले बताएका छन् समानुपातिकको मतगणना सकिएपछि कांग्रेसको कति सिट आउँछ भन्ने जानकारी पाएपछि मात्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारीमा देउवा रहेको पनि उनले बताए । केन्द्रीय समितिको बैठक बसेको एक महिनाभित्रै महासमिति बैठक डाक्ने विषयमा देउवाले निकटस्थहरुसँग सरसल्लाह गरिरहेको जनाइएको छ ।
महासमिति बैठक भैरहवामा गर्ने बारेमा पनि छलफल भइरहेको खाँणले जानकारी दिए।कांग्रेसको विधानमा एक वर्षमा एकचोटि महासमिति बैठक बस्ने व्यवस्था गरिएको छ। देउवा कांग्रेसको १३ औं महाधिवेशनबाट सभापति निर्वाचित भएको दुई वर्ष पुग्नै लागे पनि एकपटक पनि महासमिति बैठक बसेको छैन।
सभापति देउवाले पार्टी संरचनालाई पनि पूर्णता दिन सकेका छैनन्। केन्द्रीय कार्यसमितिमा सदस्य मनोनयनदेखि पार्टीका अधिकांश विभागले समेत पूर्णता पाएका छैनन्।
चुनावमा पार्टी पराजित भएपछि केही युवा नेतादेखि पुराना पुस्तासम्मले विशेष महाधिवेशन बोलाएर नेतृत्व परिर्वतनसम्मको आवाज उठाएका छन्। कांग्रेस नेता खाँणले २०६४ साल जस्तै २०७४ सालमा पनि कांग्रेस संख्यातमक रूपमा तल देखिए पनि मुलुक जितेको सन्देश गएकोले निर्वाचन सम्पन्न गराएको जसको फाइदा कांग्रेसलाई पछि हुने जिकिर गरे।
उनले ०६४ यताका हरेक चुनावमा कांग्रेसले आफ्नो मत प्रतिशत बढाउँदै लगेको भन्दै सन्तोष व्यक्त गरे। ०६४ सालको पहिलो संविधानसभा चुनावमा कांग्रेसले २२ प्रतिशत मत पाएको थियो भने ०७० मा २९ प्रतिशत मत पाएको थियो। केही महिनाअघि मात्रै भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले ३२ प्रतिशत मत प्राप्त गरेको थियो भने हालै सम्पन्न निर्वाचनमा ३४ प्रतिशतको हाराहारीमा मत पुर्याएको छ।














