मधेसका अराजक आन्दोलकारीले घर जलाइदिएर घरबारविहीन बनेकी कांग्रेस सभासद् सितादेवी यादवले केही नेताका व्यक्तिगत स्वार्थका पूर्ति गर्नका लागि आन्दोलनका नाउँमा मधेसी जनतालाई सास्ती दिएको बताएकी छिन् । नेपालदेश डटकमसँग कुराकानी गर्दै सभासद् यादवले भनिन् जनताको घर जलाउनु कसरी जनताका लागि आन्दोलन हुनसक्छ ? राज्यका ठूला पदमा आफू पुग्ने र भोलिका लागि भोट सुरक्षित गर्ने कुटिल उद्देश्यले मात्रै मधेसमा आगो बालिएको उनले प्रष्ट पारिन् ।
सिराहा क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित महिला सभासद् यादवले भनिन् सिराहामा कुनै आन्दोलन थिएन, मधेसकेन्द्रित दलका नेताको व्यक्तिगत स्वार्थ बुझेर नै त्यहाँका जनता सडकमा गएका थिएनन् । त्यो देखेर उपेन्द्र यादव त्यहाँ पुगेर केही मानिसको प्रयोग गर्दै मेरो घरमा आगो लगाए ।
मधेसी जनताको अधिकारका लागि कांग्रेसभित्रका मधेसी सभासद्ले मौखिक र लिखित रुपमा आवाज उठाउँदै आएको समेत उनले उल्लेख गरिन् । समानुपातिक समावेशी अधिकार र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणका विषयमा आफूहरुले माग राख्दै आएको उनले बताइन् ।
सरकारले संविधान संशोधन मार्फत असन्तुष्ट दलका दुई माग सम्बोधन गरेको उल्लेख गर्दै सभासद् यादवले एकैपल्ट कसैका पनि सबै माग एकैपल्ट पूरा नहुने भएकोले वार्तामा आउन असन्तुष्ट दललाई आग्रह गरिन् । नाकाबन्दी गरेर र मधेसी जनताको घर जलाएर अझ बढी पीडा जनतालाई नदिन उनले आग्रह गरिन् । सरकारले माग सम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव नै अगाडि सारेकोले अरु मागहरु वार्तामार्फत राख्न समेत उनले मधेसकेन्द्रित दलहरुलाई आह्वान गरिन् ।
उनका छोरा डा सभासचन्द्र यादवले घर र सवारी साधन जलाउनेलाई राज्यले कारवाही गर्नुपर्ने बताए । आफू घरमै रहेको अवस्थामा आफूसहितलाई जलाउने षडयन्त्र अराजकहरुले गरेको उनले नेपालदेश डटकमलाई बताए । आफू पछाडिबाट भागेर बाँच्न सफल भएको भन्दै नजिकै रहेको प्रहरी प्रशासनले समेत आफूहरुलाई साथ नदिएको गुनासो गरे ।














