७ असोज, स्पेनिश ला लिगा शीर्ष टोली बार्सिलोनाले जारी सिजनमा पहिलो हार व्यहोरेको छ । बार्सिलोनालाई सेल्टा भिगोले गए राति ४-१ को अन्तरले हराइदिएको हो ।
हारसँगै बार्साले शीर्षस्थान पनि गुमाएको मात्रै छैन समान १२ अंक भए पनि गोल अन्तरका आधारमा पाचौं स्थानमा धकेलिएको छ ।
लिभरपुलका पूर्व फर्वार्ड लागो आसपासले दुई गोल गरेको खेलमा सेल्ट भिगोको तर्फबाट पहिलो गोल भने नोलिटोले गरेका थिए । नोलिटो यसअघि बार्सामा नै थिए। चौथो गोल भने जोह गुडेट्टीले ८३ औं मिनेटमा गरे।
बार्साका लागि ब्राजिलियन स्ट्राइकर नेइमारले ८० औं मिनेटमा गोल फर्काए पनि खेलमा फर्कन पर्याप्त भएन।
गत सिजनको विजेता वार्सिलोनाले ला लिगामा २५ खेलमा पहिलो हार व्यहोरेको हो । बार्साले आन्द्रे इनिस्टा, लियोनल मेस्सी, लुईस सुआरेज र नेइमारलाई पुरै समय खेलाए पनि उनीहरुले खेलमा कुनै जादु देखाउन सकेनन् ।
बार्साले यो सिजनमा खेलेका ९ खेल मध्षे तीनवटामा ४ गोल खाएको छ । बार्सालाई स्पेनिश सुपर कपमा एट्लेटिको बिल्बाओले ४-० गोल अन्तरले हराएको थियो भने सेभिल्लाले पनि युएफा सुपर कपमा ४ गोल हानेको थियो । यो खेल भने वार्साले ५-४ ले जितेको थियो ।
रियल शीर्षस्थानमा चीर प्रतिद्वन्द्वी वार्सिलोनाले खराब दिनको सामना गरेकै बेला स्पेनिश महारथी रियल मड्रिडले भने जित हात पारेको छ । फ्रेन्च स्ट्राइकर करिम बेन्जमाले दुई गोल गरेको खेलमा रियलले एट्लेटिको बिल्बाओलाई २(१ ले हरायो । ५ खेलबाट १३ अंक जोडेको रियल गोल अन्तरका आधारमा शीर्षस्थानमा छ ।
ला लिगामा सेल्टा डि भिगो र भिल्लारियलले पनि १३ अंक नै जोडेका छन् । उनीहरु क्रमशस् दोस्रो र तेस्रो स्थानमा छन् । रियल र एट्लेटिको बिल्बाओबीचको खेलमा ७ वटा पहेँलो कार्ड दिइएको थियो ।














