२ पुस, काठमाडौं । नेपालले एसिसी यु १६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलनमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन जोडेको थियो । नेपालका लागि नियमित कप्तान रीत गौतमको स्थानमा कप्तानी गरिरहेका विशाल केसीले ६३ रन जोडे । रीत चोटका कारण फाइनलमा उपस्थित रहेनन् । नारायण जोशीले २३ बलमा अविजित ४६ रन जोडेपछि नेपालले बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरले ३२ औं ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र जोड्न सक्यो । नेपालका लागि सूर्य तामाङ र अजय कुमार लुनियाले ३(३ विकेट लिएका थिए ।
नेपालले २०१४ मा मलेसियामा एसिसी यु १६ प्रिमियरको नामले आयोजना गरेको प्रतियोगितामा पनि उपाधि जितेको थियो। २०१४ र हाल भएको यु १६ उपाधिमाथि लगातारको विजयले क्रिकेटमा नेपालको भविष्य उज्यालो देखिएको छ ।













