असोज १, काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव एस जयशंकरले मधेसकेन्द्रित दलका नेताहरुलाई भारतीय दुतावासभित्रै गोप्य भेटवार्ता गरेका छन् । विदेश सचिव जयशंकरले भारतीय दूतावासमा आयोजित दिवा भोजका क्रममा मधेसी नेताहरुसँग सामूहिक भेटघाट गरेका हुन् । अन्य राजनीतिक भेटवार्ता सम्बन्धित व्यक्तिकै निवासमा गरिएकोमा मधेसी दलका नेताहरुलाई भने सामूहिक रुपमा दिवाभोज खुवाउन दूतावासमै बोलाइएको थियो ।

भेटमा मधेसी नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, महेन्द्र यादव र लक्ष्मणलाल कर्णको मात्रै सहभागिता रहेको थियो ।
उनीहरुले मधेस आन्दोलन, नयाँ संविधान र मधेसको समस्यालगायतका विषयमा भारतीय विदेश सचिवसँग कुरा राखेका थिए ।
भारतीय विदेश सचिव जयशंकरले भने मधेसी नेताहरुको कुरामा कुनै टिप्पणी नगरेको र समाधानको विषयमा मात्रै जिज्ञासा राखेको बताइएको छ ।
शुक्रबार राष्ट्रपति डा रामवरण यादवसँग भेटेर नयाँ संविधान र मधेस आन्दोलनका बारेमा छलफल गरेका छन् ।












