१७ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी यू १९ प्रिमियर क्रिकेटमा नेपालले साउदी अरेबियालाई ९ विकेट हराएको छ । बिहीबार बिहान मलेसियाको क्वालालम्पुरमा भएको खेलमा साउदी अरेबियाको ५६ रनको चुनौती नेपालले ९ ओभरमै १ विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालको जीतमा ओपनर सुनिल धमलाले २० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३४ रन बनाए भने नटआउट रहेका कप्तान राजु रिजालले १४ रन बनाए । त्यसैगरी शंकर रानाको नाममा चार रन रह्ययो । साउदी अरेबियाका लागि सामी मुन्सी एक विकेट लिएका थिए ।
यसअघि पहिले ब्याटिङ गरेको साउदी अरेबियाका फैसल खानले १४ बलमा २ चौका र १ छक्का हान्दै १९ बन बनाए । त्यसैगरी जैनले ४ बलमा १ चौका र १ छक्काको मद्दतले ११ रन जोडे। नेपालका लागि सुशील कडेँलले ४ विकेट, सुनिल धमला र प्रेम तामाङले समान २/२ विकेट लिए ।
यससँगै नेपालको शीर्ष स्थानमा उक्लिएको छ र च्याम्पियन बन्ने सम्भावना कायमै छ । अहिले चलिरहेको खेलमा मलेसियाले अफगानिस्तानलाई हराए नेपाल च्याम्पियन बन्ने छ ।













