६ भदौ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गरी हत्या गर्ने सुटर भगवान् भनिने सञ्जय स्माइली मगरलाई प्रहरीले आइतबार साउदी अरबबाट काठमाडौं ल्याएको छ ।
इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भइसकेका मगरलार्इ साउदी जेलबाट केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले साउदी दूतावास र प्रहरीसँगको समन्वयमा नेपाल ल्याइएको हो ।
बुधबार साउदी अरब गएको सीआईबीको टोलीले आइतबार सञ्जयलार्इ लिएर आएको हो । अर्का सुटर जनकपुरका शिव भनिने करण चौधरीलाई सीआईबीले यसअघि नै पक्राउ गरिसकेको छ।
२०६९ जेठ १८ गते बिहान बगलामुखीको दर्शन गरी फर्र्किएका बममाथि ललितपुर शंखमुलस्थित यूएनपार्क नजिकैको प्लटिङमा गाडी रोकेर गोली प्रहार गरी हत्या गरिएको थियो। बमका साथी राम गिरी र अंगरक्षक असई महेश गिरीमाथि पनि गोली प्रहार भएको थियो।
फैसला प्रतिशोधका कारणले बममाथि गोली प्रहार भएको पक्राउ परेकाको बयानले देखाएको छ। चुरेभाबर राष्ट्रिय एकता पार्टीको नेतृत्व लिन उपाध्यक्ष बाबु थापा भनिने मेघबहादुर थापा र केशव मैनालीबीच विवाद बढेका बेला मुद्दा अदालतमा पुगेपछि न्यायाधीश बमकै एकल इजलासले मैनालीको नेतृत्वलाई निरन्तरता दिने फैसला सुनाएको थियो।













