१२ साउन, काठमाडौं । पाँच सय रुपैयाँको विवादमा एक युवकले आफ्नै सहकर्मीको हत्या गरेका छन् । म्हैपीस्थित सागर अटो वर्कसपका कर्मचारी उमेशविक्रम विष्टले सँगै काम गर्ने अशोक खड्काको हत्या गरेका हुन् ।
कारमा ‘गियर ओयल’ हालेको पाँच सय रुपैयाँ आफूलाई नदिएको विवादमा गलले घाँटीमा रोपेर ३१ असारमा विष्टले खड्काको हत्या गरेका हुन् । घटनाको १० दिनपछि विष्ट सतुंगलबाट पक्राउ परेका छन् ।
सतुंगलको मकालु वर्कसपबाट उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । आफू मदिरामा मात्तिएको र त्यही वेला विवाद भएपछि हत्या गरेको विष्टले स्वीकार गरेका छन् ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विष्ट र खड्का दुवैजनाले वर्कसपमै बसेर मदिरा पिएका थिए । घटना भएको दिन खड्काले वर्कसपमा मर्मतका लागि ल्याइएको पिकान्टो कारमा गियर ओयल हालेका थिए । त्यसबापत साहुबाट खड्काले मात्र पैसा पाएका थिए । सो पैसा आफूलाई नदिएको भन्दै विष्टले झगडा सुरु गरेका थिए ।
विवादको क्रममा दुई जनाबीच हात हालाहाल भएको र विष्टले खड्कालाई फलामको गलले आक्रमण गरेको प्रहरीले जनाएको छ । अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार खड्काले छलेपछि गलले लागेर कारको सिसा फुटेको थियो । कुटाइबाट बच्न खड्का गाडीभित्र छिरेका थिए । विष्टले गाडीको ढोका खोलेर गलले घाँटीमा रोपेका थिए । गल घाँटीमा रोपेपछि खड्काको मृत्यु भएको थियो भने विष्ट फरार भएका थिए ।












