८ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डा. गोविन्द केसीले आफूसँग भएका सहमति कार्यान्वयनसहित पाँच बुँदे माग राख्दै सरकारलाई दुई साताको अल्टिमेटम दिएका छन् । केदारभक्त माथेमा संयोजकत्वको कार्यदलले प्रतिवेदन बुझाएको एक महिना पुगिसक्दा पनि सार्वजनिक तथा कार्यान्वयन गर्न सरकारले कुनै तदारुकता नदेखाएको गुनासो डा. केसीले गरेका छन् । प्रतिवेदन कार्यान्वयन नहुँदा विगतका अधिकांश उपलब्धिहरु गुम्ने र नेपालमा स्वास्थ्य क्षेत्रमा सुधारको ठूलो अवसर पनि गुम्ने भएका कारण फेरि जुर्मुराउनुपरेको कुरा केसीले विज्ञप्ति मार्फत दिएका छन् ।

माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषदबाट निर्णय गरेर आवश्यक नीति र कानुन निर्माणका प्रक्रिया थाल्न माग गर्दै डा. केसीले माग पूरा नभए आमरण अनसनसहितका आन्दोलन थाल्ने चेतावनी दिएका छन् । साथै विद्यार्थी संख्या र शूल्कजस्ता तत्काल कार्यान्वयन गर्न सकिने बुँदाहरु आउँदो शैक्षिक सत्रदेखि लागू गर्ने व्यवस्था गर्न मेडिकल काउन्सिल र विश्वविद्यालयहरुलाई पत्राचार गर्न पनि केसीले गरेका छन् ।













