७ साउन, काठमाडौं । आठ वर्षदेखिको विवाद अन्त्य गर्दै दुई ओलम्पिक कमिटी एनओसीबीच बुधबार सहमति भएको छ । खेल र खेलाडीको हितका लागि आफूहरू सहमतिमा आएको दुवै कमिटीका पदाधिकारीले बताएका छन् ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान र राष्ट्रिय मान्यता प्राप्त कमिटीका अध्यक्ष रुक्मशमशेर राणालेसहमतिपत्रमा हस्ताक्षर गरेका छन् । प्रधानको पक्षबाट महासचिव जीवनराम श्रेष्ठले पनि हस्ताक्षर गरेका छन् ।
‘खेलकुद र ओलम्पिक गतिविधिको हितमा अगाडि बढ्न हामीले चित्तबुझ्दो ढंगले सहमति गरेका छौँ,’ सहमतिपत्रमा उल्लेख छ । ०६८ मा सर्वोच्च अदालतले राणा अध्यक्ष रहेको कमिटीलाई ब्युँताएपछि दुई ओलम्पिक कमिटी अस्तित्वमा थिए । दुई कमिटीबीच त्यतिवेलैदेखि चर्को विवाद सुरु भएको हो ।
राणाले ओलम्पिक गतिविधि र खेलाडीको भविष्यको विचार गर्दै विवाद समाधान गरिएको बताए । ‘दुवै कमिटी विवादित बनिरहँदा ओलम्पिक गतिविधि र खेलाडीको भविष्यसमेत अन्योलमा परेको छ, खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि हामीबीच सहमति भएको हो,’ उनले भने, ‘फेरि दुवै कमिटीमा पुरानै साथीहरू छन्, साथीहरूबीच मिलेर जाँदा नै नेपाली खेलकुदको भविष्य राम्रो हुने देखेँ ।’













