३१ असार, काठमाडौं । साझा प्रकाशनको अध्यक्ष मनोनित गरिएका कांग्रेस नेता एवं सभासद् रमेश लेखकले अध्यक्ष पद अस्वीकार गरेका छन् । लेखकले शिक्षा मन्त्री चित्रलेखा यादवलाई भेटी उनले अध्यक्ष पद अस्वीकार गरेका हुन् । लेखकले आफूसँग मनोनयनपूर्व परामर्श नगरिएको भन्ने असन्तुष्टी जनाउँदै मन्त्रीलाई लिखित रुपमा निवेदन दिएका छन् । लेखकले असन्तुष्टीसँग आफ्नो कार्यव्यस्तताका कारण अध्यक्ष पद सम्हाल्न नसक्ने समेत उल्लेख गरेका छन् ।
शिक्षा मन्त्री यादवले लेखकलाई अध्यक्ष तथा एमाले नेता एवं प्रदीप नेपाल र एमाओवादी प्रवक्ता दिनानाथ शर्मालाई साझा प्रकाशन सहकारी लिमिटेडको सञ्लाक समिति सदस्यमा नियुक्त गरेकी थिइन् ।
साहित्यिक संस्थामा राजनीतिक भागवण्डा गरिनु अनुपयुक्त भएको प्रतिक्रिया एमाओवादी नेता डा बाबुराम भट्टराईले व्यक्त गरेका थिए ।
पूर्व अध्यक्ष ममता झा र अन्य दुई बोर्ड सदस्य मिलेर डुबाएको साझा प्रकाशन बचाउन राजनीतिक दलका नेता नियुक्ति हुनु उपयुक्त भएका प्रतिक्रिया साहित्यकारहरुले दिएका थिए । साझा बचाउन आग्रह गर्दै आमरण अनशन बसेका पूर्व बोर्ड सदस्य तथा साहित्यकार नयनराज पाण्डेले पनि राजनीतिक हैसियत भएका व्यक्ति अध्यक्ष हुँदा साझा प्रकाशनको आर्थिक अवस्था सुधारिने धारणा व्यक्त गरेका थिए ।












