२५ असार, काठमाडौं । ममता झाले डुबाएको साझा प्रकाशन बचाउन सरकारले पूर्वमन्त्रीहरुलाई संचालक समितिमा नियुक्त गरेको छ । साझा प्रकाशन सञ्चालक समितिको अध्यक्षमा रमेश लेखक मनोनित भएका छन् । शिक्षा मन्त्रालयले पूर्वमन्त्री एवम् संविधान सभाका सदस्य रमेश लेखकलाई अध्यक्षमा मनोनयन गरेको हो । त्यसै गरी सदस्यहरूमा पूर्व शिक्षामन्त्रीद्वय प्रदीप नेपाल एवम् दिनानाथ शर्मा मनोनयन भएका छन् । त्यस्तै साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पनि सदस्यका रूपमा मनोनयन गरिएको छ ।
तीन वर्षका लागि मनोनयन भएका उनीहरूको कार्यकालमा साझा प्रकाशनले विद्यमान सङ्कट अन्त गरी आफ्नो सय वर्षको गौरवमय इतिहासलाई अझ उच्च बनाउने विश्वास आम साहित्यिकार एवम् सरोकरवालाहरूले लिएका छन् । साझा प्रकाशन डुबाउनेहरुलाई कारवाही गर्न माग गर्दै अनशन गरेका साहित्यकार नयनराज पाण्डेले नयाँ कार्यसमितिबाट साझा बचाउन सक्ने आशा जागेको प्रतिक्रिया नेपाल देश डटकमलाई दिए । ममता झा अध्यक्ष रहँदा साझा प्रकाशनमा भ्रष्ट्राचार गरेको भन्दै साहित्यकारहरु आन्दोलित भएका थिए भने अख्तियारले समेत छानविन थालेको थियो ।












