२३ असार, काठमाडौं । वनभोज जाँदा संकलन भएको पैसाको विषयलाई लिएर त्रिचन्द्र कलेजका विद्यार्थीबीच खुकुरी हानाहान भएको छ । घटनामा कलेजका स्ववियु सहसचिव जनक सिंह र हिलारी भन्ने हिक्मत रोकाय घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोख्रेलले बताए । उनका अनुसार बुधबार बिहान कलेजमा बिद्यार्थीबीच हानाहान भएको थियो । रोकायले सिंहमाथि खुकुरी प्रहार गरेका थिए । सिंहले फेरि खुकुरी खोसेर आक्रमण गर्दा रोकायको साहिली औंला छिनेको छ ।
कलेजबाट भागेर रोकाय मनमोहन अस्पताल पुगेका थिए । त्यहाँ उनले मोटरसाइकल दुर्घटनामा परेर आफ्नो औंला छिनेको भन्दै उपचार गराएका थिए । अस्पतालले उनको औंला पुरै काटिदिएको छ । घटनास्थलबाट प्रहरीले रोकायको काटिएको औंला बरामद गरेर वीर अस्पताल लगेर राखिदिएको थियो । सिंहको मोडल अस्पताल र रोकायको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।












