३१ जेठ, काठमाडौं । भूकम्पका कारण बन्द रहेको एक महिनाको मासिक शुल्ककमा ५० प्रतिशत छुट दिन शिक्षा मन्त्रालयले नीजी विद्यालहरुलाई निर्देशन दिएको छ। मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर यस्तो निर्देशन दिएको हो।
मन्त्रालयको यो निर्देशनसँगै आन्दोलन घोषणा गरेका १३ विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका छन् ।
यसअघि निजी विद्यालय सञ्चालकहरुले बिभिन्न शिर्षकहरुमा छुट दिने र त्यो छुट ५० प्रतिशत मिनाहा गरेको सरह हुने भन्दै आएका थिए। तर, विद्यार्थी नेताहरुले एक महिनाको शुल्क शतप्रतिशत मिनाहा गर्न माग गर्दै आएका थिए।
यसअघि आइतबार बिहान नै बिद्यार्थी संगठनहरुले प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण पत्र बुझाएका थिए।
मन्त्रालयले विज्ञप्ति मार्फत् भूकम्प प्रभावित जिल्लामा प्रभावित भएको शैक्षिक क्यालेण्डरमा समायोजन गरी पाठ्यसामग्री पठन पाठन पूरा गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।
भूकम्पबाट आमा बुवा गुमाएका २०० बालबालिकाहरुलाई पालन पोषणसहित शिक्षादिक्षाको निःशुल्क व्यवस्था एसओएस भिलेज नेपाल सानोठिमी भक्तपुरमा मिलाइएको छ।
अभिभावकबिहीन बालबालिकाहरुले पालन पोषणसहित निस्शुल्क शिक्षाको लागि जिल्ला शिक्षा कार्यालय काठमाडौं र शिक्षा विभागमा सम्पर्क गर्नुपर्ने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।













