विष्णु भट्टराई
प्रवक्ता, राप्रपा नेपाल
पार्टीभित्रै पनि अध्यक्ष लगायतका पदाधिकारीको कार्यशैलीप्रति प्रायः आलोचना गर्नेमा पर्दछन् राप्रपा नेपालका प्रवक्ता विष्णु भट्टराई । सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता समेत रहेका भट्टराई हरेक विषयमा तर्कपूर्ण आलोचना गर्दछन् । राप्रपा नेपालले अँगालीरहेका दुई विवादास्पद विषय राजतन्त्र र हिन्दू राज्य नेपालका विषयमा अन्य दलहरुले कुरा सुन्नै नचाहे पनि राप्रपा नेपालले भने यी विषयबारे कुरा उठाइ नै रहेको छ । प्रजातन्त्र र वैयक्तिक स्वतन्त्रताको उच्चत्तम व्यवस्था भएको शक्तिशाली राष्ट्र अमेरिकाकाको भ्रमणमा रहेका राप्रपा नेपालका प्रवक्तासँग हाम्रा सहकर्मी निलम कार्कीले न्यु ह्याम्सायर राज्यमा भेटेर कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानी:
तपाईं अहिले प्रजातन्त्र र वैयक्तिक स्वतन्त्रताको उच्चत्तम अभ्यास गरिरहेको देश अमेरिकाको भ्रमणमा हुनुहुन्छ । यहाँको विकास र स्वतन्त्रता हेर्दा अब राजतन्त्र र राज्यको धर्म चाहिँदो रहेनछ भन्ने लागेन ?
सबैभन्दा पहिले त म तपाईलाई भन्न चाहन्छु, अमेरिका भ्रमण यो मेरो पहिलो होइन र विश्वको प्रजातान्त्रिक अभ्यासबारे म अनभिज्ञ पनि छैन । तपाईंलाई थाहा नै होला अमेरिकाका राष्ट्रपतिले बाइबल छोएर पदको सपथ लिन्छन् । र, विडम्बना के छ भने भोलि अमेरिकाको राष्ट्रपति अन्य क्रिश्चियनभन्दा अन्य धर्मावलम्बीको भयो भने उसले पनि बाइबल लिएर नै शपथ गर्नुपर्ने व्यवस्था छ । त्यस्तै वेलायतकी महारानी क्याथोलिक नै हुनुपर्छ, क्याथोलिक नभई महारानी हुन पाइन्न । विश्वका दुई अनुपम प्रजातान्त्रिक मुलुक मानिने देशले आफ्नो राज्य धर्मको व्यवस्था गरेका छन् भने नेपालले चाहिँ आफ्नो राज्य धर्म अपनाउनु पर्ने कि नपर्ने ? पोपको भ्याटिकन सिटी राख्न हुन्छ भने हिन्दूहरुको प्राचीन सभ्यताको उद्गमस्थलमा हिन्दू राज्य किन कायम गर्नु किन उपयुक्त नहुने ? त्यसकारण हामीले हाम्रो अनादि कालदेखिको सभ्याता कायम राख्नपर्छ ।
संसारमा कुनै पनि प्राणी धर्म निरपेक्ष हुँदैन । हाम्रो मुलुकको पहिचान सगरमाथा, लाली गुराँस भनेजस्तै ‘सर्वधर्म समभाव’ पनि हाम्रो सभ्यता हो यसलाई जीवित राख्नुपर्छ । आफ्नो सभ्यता जीवित राख्दा कसैमाथि शोषण हुँदैन । हिजो पनि सर्वधर्म थिए सबै जातजाति थिए । र २०६२/६३ को आन्दोलनको म्यान्डेट पनि हिन्दूलाई समाप्त पार्नु भन्ने थिएन न त राजतन्त्रको अन्त्य गर्ने नै थियो । केवल निरंकुश राजतन्त्रको अन्त्यको कुरा थियो ।
तर्कका लागि तपाईंहरुको यी कुरा ठीक होलान् रे ? के अब नेपाल अहिलेको अवस्थाबाट पछाडि फर्केर राजतन्त्र र राज्य धर्म अपनाउन सम्भव छ ?
अहिलेको संविधानमा धारा १५७ ले अन्तरिम संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक राष्ट्रिय महत्त्वका विषयमा जनमत संग्रह गर्न पाइने उल्लेख छ । धर्म निरपेक्षता, संघीयता र गणतन्त्रका विषयमा जनताले मत व्यक्त गर्न नपाउने व्यवस्था भएकोले जनताको राजकीय सत्ता र सम्प्रभु सत्ता अहिलेको संविधानले बन्देज लगाएको छ । यो कस्तो लोकतन्त्र हो ?
नेपालमा त के भयो भने अल्पमतको अधिकारको कुरा गर्ने तर चौथो ठूलो दलको कुरा सुन्दै नसुन्ने । आफूलाई लोकतन्तवादी हुँ भन्ने दलहरु कांग्रेस र एमालेले हाम्रो कुरा सुन्दै नसुन्ने गर्नु लोकतन्त्रको कस्तो नमुना हो ? उनीहरुले नसुने पनि हामीले भन्न छाड्ने छैनौं । जनमतसंग्रहमा जानै पर्छ र ८१ प्रतिशत हिन्दूहरुको धारणा अनुसार धर्म सापेक्षता नेपालमा फर्कन्छ भन्ने हामीलाई विश्वास छ । राजतन्त्र कुन प्रकारको राख्ने वा नराख्ने भन्ने निर्णय पनि जनताले गर्न पाउनुपर्छ । जनताले राजतन्त्र चाहिँदैन भनेछन् भने हामीलाई स्वीकार्य छ । कुरा त राजतन्त्र र धार्मिक सापेक्षता फर्कन्छ कि फर्कंदैन भन्ने भन्दा संविधान प्रदत्त अधिकारको प्रयोग हुनुपर्छ भन्ने हो ।
तर राप्रपा नेपाल पार्टी आफैंले आन्तरिक लोकतन्त्रको अभ्यास नगरेको र एक व्यक्तिको अधिनायकत्वमा पार्टी चलेको देखिन्छ नि ?
कहिलेकाहीँ हाम्रो पार्टीका बारेमा यो कुरा उठ्ने गरेको सत्य हो । हाम्रो पार्टीको निर्णय चाहिँ सामुहिक नै हुन्छ तर अध्यक्षको कुरा सबैले मान्ने अवस्था छ । यो अवस्था भनेको अधिनायकत्व र सहमति दुवै हो । व्यक्तिको खडेरीका कारण पनि यस्तो भएको हो । कुनै विचार दिने व्यक्ति हाम्रो दलमा अभाव छ । नयाँ विचार दिन नसके पनि विरोध गर्ने प्रवृत्तिको कमी छैन ।
नयाँ विचार लिने पद्म सुन्दर लावतीलाई त तपाईंहरुले पाखा लगाइहाल्नुभयो नि होइन ?
लावतीजी पार्टी महाधिवेशनमा हारेको मान्छे । हार र जीतको कुरालाई अधिनायकत्व भन्न कसरी सुहाउँछ ? तीन सय मत पनि नल्याउने लावतीलाई अध्यक्ष कमल थापाले पुनः मनोनित पनि गर्नुभयो । उहाँकै बुहारी बबीना मोक्तानलाई दुईदुईपल्ट सभासद्मा मनोनित गरियो । यस्तो गर्दा भने अध्यक्षको अधिनायकत्व देखिएको छ ।
तपाईंको दलका सभासद्मा विदेशी नागरिकता भएको नेपाली समेत मनोनित भएको समाचार आएको थियो । तपाईंको छोराको घर नै अमेरिकामा रहेछ । तपाईं पनि विदेशी नागरिक हुने तयारीमा हो कि ?
छोरो अमेरिका छोरी स्वीडेनमा बस्छन् । देशको अवस्था हेर्दा कहिलेकाहीँ त निराश भएर पलायन हौं कि जस्तो पनि लाग्छ । तर त्यसमा देशको के दोष ? दोष हाम्रै हो । कुपुत्रो जायत क्वचिदपि कुमाता न भवति । अर्थात् छोरो खराब भए पनि आमा कहिल्यै खराब हुन्नन् । त्यसैले लाग्छ जन्मभूमिप्रतिको् माया आफ्नो सुख सुविधाभन्दा ठूलो हुँदैन रहेछ । भोकैनाङ्गै बस्नुपरे पनि आफ्नै देश प्रिय लाग्छ ।
जहाँसम्म हाम्रो पार्टीभित्र विदेशी नागरिकहरु सभासद् भएको भन्ने प्रश्न छ यसमा यस्तो काम कारवाही गरेर बस्नेहरुलाई नै हीनताबोध हुनुपर्ने हो ।
त्यसो भए राप्रपा नेपालको नेतृत्वमा अनुशासन र राष्ट्रप्रेम छैन ?
जिम्मेवार व्यक्तिको उदासिनता र अनदेखा भएर यस्तो भएको होला । विदेशी नागरिकता लिएका नेपालीलाई सभासद् बनाएको भनी आलोचना भैसकेपछि त्यसको सफाइ नेतृत्वले दिनुपथ्र्यो । त्यसो नहुँदा नेतृत्वप्रति औंला उठेका छन् । यस्तो अवस्थामा अनुहारमा दाग लाग्यो भने ऐना पुछेर अनुहार सफा बनाउन खोज्नु भ्रम हुन्छ । यस्तो प्रवृत्ति हाम्रो दलमा मात्र होइन नेपालका सबै दलमा छ ।
राप्रपा नेपाल र राप्रपा एकीकरण हुने कुरा के भइरहेको छ ?
राजनीतिमा पार्टी फुट्नु र जुट्नु युजुअल फेनोमेना हो । हिजो फुटेका शक्तिबीच सिद्धान्तमा कुरा मिलेमा फेरि एक हुनसक्ने अवस्थामा हामी छौं ।
कहिलेसम्म होला एकता ?
यतिवेला देशको परिस्थितिका कारण एउटा बलियो राष्ट्रवादी शक्तिको अवश्यकता देखिएको छ । पशुपति शमशेरहरुले २०६३ पछि संवैधानिक राजतन्त्र छाड्नुभयो । तर हामी भने त्यहीँ नै छौं राजतन्त्रको मुद्दा छाडेका छैनौं । प्रकारान्तरले राजसंस्था मान्ने हिजोका शक्ति आज संविधान सभामा ३७/३८ सिट छौं । यी शक्ति हिजोकै स्थानमा जतिसक्दो छिटो आउँछन् तब एकता हुन्छ ।
तपाईंहरुले राजतन्त्र छाड्ने गरी एकता हुन लागेको भन्ने कुरा बाहिर आएको छ त होइन ?
हामीले जुन एजेण्डा बोकेर दोस्रो संविधान सभामा २४ सिट ल्यायौं त्यो एजेण्डा छाड्ने कुरा आउँदैन ।
दोस्रो संविधान सभाको निर्वाचनमा त तपाईंहरुले हिन्दू धर्मावलम्बीको संवेदनाको प्रयोग गर्दै र गाईको तस्वीर देखाएर मत लिएको हो कि राजसंस्थाको एजेण्डाले ?
हामीले गाईको र धर्मको सम्मान गरेका कारण मत पाएका हौं, यसलाई सकारात्मक रुपले हेरौं । राजसंस्थाका कारण हाम्रो मत आयो या धर्मका कारणले आयो भनेर हामीले भाग लगाएका छैनौं । समग्रमा राप्रपा नेपालको सिद्धान्तले जनताको मत पाएका हौं ।
यतिबेला सबै दलहरु एक ठाउँमा आएर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र संविधान पनि जारी गर्नेमा दलहरु कसरतमा छन् । अबकोनेपाली राजनीति कस्तो रहला ?
देशको महाविपत्तिमा सबै दल एक ठाउँमा आउनुपर्छ भन्नु ठीक हो तर त्यो कार्यान्वयन हुनेमा म त्यति आशावादी छैन । २०७२ मा देशले संविधान पाए त राम्रो हो तर संविधान आउला जस्तो लाग्दैन । विपत्तिमा एकै ठाउँ आउनुपर्छ भने पनि विपरीत विचार भएका दल र द्वन्द्वकालीन मुद्दाको टुङ्गो लगाउने कुरामा नै दलहरुबीच समस्या देखा पर्छ । द्वन्द्वकालीन मुद्दामा आममाफी दिने कुरा अदालतले खारेज गरेको छ तर माओवादीले त्यसको विरोध गरेकै छ । संघीयताका मुद्दा पनि सबै पक्षका आआफ्नै छन् । त्यसैले तत्काल सहमति भएर संविधान जारी हुने अवस्था म देख्दिन यो केवल को प्रधानमन्त्री हुने भन्ने विषय प्रमुख भएर आएजस्तो मात्र देखिन्छ ।













