२५ वैशाख, काठमाडौं । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले भूकम्पपीडितहरुका लागि विभिन्न जिल्लामा राहत वितरण गरेको छ । सेवा समितिको केन्द्रीय धाम गोठाटारको नेतृत्मा देशभरका श्रीकृष्ण प्रणामीअन्तरगतका संघ संस्थामार्फत राहत वितरण गरिएको हो । समिति अन्तरगतका महिला समिति, युवा परिषद्, मक्ति धाम इटहरि लगायतका संस्थाहरुको सहकार्यमा सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट र धादिङ लगायतका जिल्लामा राहत वितरण गरिएको जनाइएको छ ।
प्रणामी सेवा समितिले एक हजार परिवारका लागि खाद्यान्न, पाल, लत्ता कपडा वितरण गरिएको जानकारी समितिले दिएको जनाएको छ ।
यसैबीच श्रीकृष्ण प्रणामी सेवा समितिले भूकम्पपीडित पाँच सय बालबालिकालाई आजिवन शिक्षा, स्वास्थ्य तथा पालनपोषण गर्ने घोषणा गरेको छ । सोह्र वर्षमुनिका बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा पालनपोषणको व्यवस्था गरिएकोले पीडितले सम्पर्क गर्न समेत समितिले आग्रह गरेको छ । हाल पीडित बालबालिकालाई आश्रमले बटुलिरहेको र पीडितको खोजी कार्य भैरहेको समितिका प्रेस संयोजक मणि पाण्डेले जानकारी दिएका छन् ।
भूकम्पपीडित बालबालिकालाई कक्षा १२ सम्मको शिक्षा दिने र आन्मनिर्भर भएपछि स्वतन्त्रतापूर्वक जीवन यापनको व्यवस्था गरिने समेत प्रणामी सेवा समितिले जनाएको छ । पीडित बालबालिका संकलनको कार्य विभिन्न जिल्ला प्रशासन कार्यालयमार्फत वा आश्रमका शाखा तथा केन्द्रीय धाम गोठाटारको फोन नम्बर ०१– ४९९१८५० मा सम्पर्क गर्न सकिने पनि समितिले जनाएको छ ।












