देशमा भ्रष्ट्राचारको पारो माथि पुगेको विभिन्न सूचकहरुले देखाएका छन् । संयुक्त सरकार भएका कारण दुवै पार्टीका मन्त्री तथा कार्यकर्ताले कमाउनका लागि तँछाडमछाड गरेका कारण भ्रष्ट्राचार बढेको विश्लेषकहरु बताउँछन् । त्यसो त प्रधानमन्त्री स्वयम्ले भ्रष्ट्राचार रोक्न नसकेको लाचारी कुरा गर्दै आएका छन् । सम्पत्तिका नाउँमा मोबाइल मात्र रहेको बताउने कोइराला आफैं पनि महाभ्रष्ट्र भएको भ्रष्ट्राचार विरोधी अभियन्ता भरत जंगम बताउँछन् । प्रस्तुत छ यही विषयमा केन्द्रित भएर नेपाल देश डट कमले जंगमसँग गरेको कुराकानी :
यो देशका सबैभन्दा ठूला भ्रष्ट्राचारी को हुन् ?
राजनीतिक पार्टीका नेताहरु प्रायः भ्रष्ट्र छन् । भष्ट्राचार गरेर नै पार्टी चलाएका हुन्छन् । कार्यकर्तालाई पैसाकै बलमा नेतामुखी बनाएका छन् । नेताको एउटै उद्देश्य भनेको सत्ताको प्राप्ती वा सत्ताको नजिक पुग्ने र राज्य कोषबाट बढीभन्दा बढी फाइदा लिने रहेको देखिन्छ । त्यसैले हाम्रो देशका ठूला भ्रष्ट्राचारी राजनीतिक दल र तिनका नेताहरु हुन् भन्नेमा कुनै विवाद हुन सक्दैन ।
देशमा परिवर्तन ल्याउने, जनतालाई संगठित गर्ने राजनीतिक दल नै हुन् । जनताका नेतृत्वकर्ता वा प्रतिनिधि मानिने दलका नेता नै सबैभन्दा भ्रष्ट्र हुनबाट रोक्न के गर्नुपर्ला ?
विकासोन्मुख देशमा नेताहरु सत्तामुखी हुने र सत्तामा पुगेपछि धन आर्जन गर्ने गर्दछन् । त्यसरी कमएको धनको आडमा जनतामा गै पुनः चुनिन पुग्छन् । जुन विकासोन्मुख देशको रोग हो । यस्ता विकासोन्मुख देशहरुमा ल्याटिन अमेरिका, दक्षिण अफ्रिका र एसियाका धेरै मुलुक पर्दछन् । जो राजनीतिकब नेताहरु भ्रष्ट्राचारमा पूर्णरुपले लिप्त भएको देखिन्छ त्यसमा पनि हाम्रो जस्तो अस्थिर राजनीति भएको देशमा त झन् बढी भ्रष्ट्राचार हुनु स्वभाविक हो । यो स्वभाविक स्थितिलाई परिवर्तन गर्न हामीले सजिलै सक्दैनौं । त्यसैले हामी भ्रष्ट्राचार सहन लाचार छौं ।
सादगी व्यक्ति प्रधानमन्त्री हुँदा झन् भ्रष्ट्राचार बढेको देखिन्छ । विभिन्न सूचकहरुले पनि यस्तो देखाएका छन् । किन भयो यस्तो ?
हामीले सादगी देख्ने सुशील कोइराला पनि भ्रष्ट्राचारजन्य कार्यमा मुछिएका छन् । यद्यपि उनी व्यक्तिगत रुपमा भ्रष्ट्र होइनन् । तर उनको क्रियाकलाप समयसमयमा गरिने निर्णयहरु र मन्त्री परिषद्बाट बाध्यात्मक रुपले गरेका निर्णयले उनलाई भ्रष्ट्रताको काटीमा राख्नै पर्छ । कारण उनका कतिपय कुराहरु दोहोरो चरित्रका देखिन्छन् । जस्तै १८ औं सार्क सम्मेलनमा भएको खर्चका बारेमा भ्रष्ट्राचार भएको भनेर बोल्ने तर त्यही खर्च मन्त्री परिषद्बाट अनुमोदन गरेर वैधानिक दिए उनले । आफ्ना मन्त्रीहरुले भ्रष्ट्राचार गरे भनेर उनैले भन्छन् अनि कारवाही गर्दैनन् । त्योभन्दा निर्लज्ज भ्रष्ट्राचार के हुन सक्छ ?
त्यस्तै गणेशमान सिंह शतवार्षिकीको नाउँमा ५० लाख रकम निकासा गर्ने अनि कांग्रेस युवालाई दिने काम उनले गरे । गणेशमानजी जस्तो लौह पुरुषको शतवार्षिकी मनाउन नहुने भन्ने मेरो भनाइ होइन तर गणेशमानका नाममा अनुसन्धान र उपलब्धीमूलक काम गर्नुपर्यो भन्ने हो ।
कति रकम भ्रष्ट्राचार गर्यो कोइराला सरकारले ?
भ्रष्ट्राचारको सीमा नघाए सुशील कोइरालाले । उनको नेतृत्वमा यति भ्रष्ट्राचार भएको छ कि उनी नै भ्रष्ट्राचारी हुन् भनेर किटानका साथ भन्नुपर्ने भएको छ । संवैधानिक निकायका नियुक्तिमा भ्रष्ट्राचार, वेलावेलामा मन्त्रीपरिषद्बाट रकम निकास गरेर भ्रष्ट्राचार, वेलावेलामा भारतीय दवावमा अपर कर्णाली लगायतका देशका सम्पदाहरुलाई लिजमा दिने कार्य गरे यी सबै कोइरालाको नेतृत्वमा भएका भ्रष्ट्राचारका नमुना हुन् ।
अपर कर्णालीमा कसरी भ्रष्ट्राचार भयो ?
अपर कर्णाली भारतले लिन चाहेको कांग्रेस आई सरकारमा रहेको समयदेखि नै हो । जीएमआर कम्पनीले कांग्रेस आईलाई नै घुसपैठ गराएर नेपाललाई दवाव दिएको अपर कर्णालीको पिडिए कोइरालाले गराए । जुन अत्यन्त अव्यवहारिक, गैरकानुनी र दवावमूलक छ ।
भ्रष्ट्राचार नियन्त्रण गर्ने निकाय अख्तियारले सधैं राजनीतिक नेतृत्वले गरेको भ्रष्ट्राचारलाई वैधानिकता दिएजस्तो देखिन्छ । सुडान घोटाला काण्डमा पनि कर्मचारीले मात्रै सजायँ पाए त्यसको नेतृत्वकर्ता राजनीतिज्ञले उन्मुक्ति पाए । माओवादी लडाकुको रकममा पनि ठूलो भ्रष्ट्राचार भएको कुरा उठ्छ तर यसबारे पनि अख्तियार सधैं मौन छ किन ?
सुडान काण्डदेखि लडाकु काण्डसम्ममा नेतालाई उन्मुक्ति मिलेको जस्तो देखिए पनि उनीहरुले उन्मुक्ति पाएका छैनन् । सुडान काण्डको मुद्दा यथावत छ । भोलिका दिनमा त्यो उठ्न सक्छ । प्रमाण नपुग्दा त्यो भ्रष्ट्राचारको नेतृत्व गर्ने राजनीतिज्ञले उन्मुक्ति पाएका हुन् । माओवादी लडाकुको पैसा समेत कृष्णबहादुर महराले अर्बौं रुपैयाँ बझेका छन् तर त्यो रकम फर्छ्र्यौट भएको छैन । कुनै पनि बेला सरकारले उनीसँग असुल गर्न सक्छ । कुन लडाकुलाई कति रकम दिइएको हो भन्ने सबै विवरण प्रमाणसहित नआएसम्म त्यो रकम फर्छ्र्यौट हुने कुरा भएन ।
राजनीतिक पुहुँच पुगेका व्यक्तिलाई अख्तियारले बचाएको अर्को उदाहरणका रुपमा राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष गणेश थापा पनि रहेका छन् । अन्तर्राष्ट्रिय रुपमा नै रकम भ्रष्ट्राचार भएको भन्ने थुप्रै प्रमाण हुँदा पनि उनलाई मुल्तवीको हतियार प्रयोग गरियो किन ?
केहीलाई अख्तियारले जानीजानी बचाएको पनि देखिन्छ । मैले पहिले नै भनेजस्तो गणेश थापालाई पनि कुनै वेला फेरि मुद्दा चल्न सक्छ ।
एकैपल्ट भ्रष्ट्राचारको मुद्दा चलाइएका खुमबहादुर खड्का र विजय गच्छदारका मुद्दामध्ये खुमबहादुरको मुद्दा अगाडि बढ्यो फैसला भयो उनले सजायँ पनि पाए तर विजय गच्छदारको मुल्तवी कहिल्यै व्यूँझिँदैन । यदि यस्तो भयो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको औचित्य माथि नै प्रश्न उठिरहने भयो होइन ?
साना भ्रष्ट्राचारीलाई समात्नु अख्तियार प्रमुख आयुक्तको कर्तव्यभित्र र कार्यभित्र पर्छ । तर ठूला भ्रष्ट्रलाई नसमात्नु उसको वाध्यताभित्र पर्छ । किनभने ऊ ठूला भन्नेबाट नियुक्त भएर गएको हो ।
त्यसो भए अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्ट्राचार नियन्त्रण गर्नका लागि गठन गरिउको देखाउने दाँत मात्र हो ?
हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग देखाउने दाँत मात्र हो । यो नै भ्रष्ट्राचारको केन्द्र भएको छ । आयोगमा ३ आयुक्त भए पुग्नेमा ७ आयुक्त नियुक्त गरियो । ती सबै आयुक्त पैसा खुवाएर पैसा कमाउन अर्थात् भ्रष्ट्राचार गर्न अख्तियारमा गएका हुन् ।
त्यसो भए यी विकृतिलाई कसरी व्यवस्थित गर्न सकिन्छ ? भ्रष्ट्राचार नियन्त्रणका लागि कस्तो संयन्त्र आवश्यक छ ?
देशमा राजनीतिक परिवर्तत नगरी भ्रष्ट्राचार नियन्त्रण गर्न सकिन्न । तर अहिले राजनीतिक परिवर्तन हुने अवस्था पनि छैन । त्यसैले भ्रष्ट्राचारको वेग बढ्छ घट्दैन । हामीले भ्रष्ट्राचार सहदै जानुपर्छ । हामी भ्रष्ट्राचार सहन जन्मिएका हौं, सहनुको विकल्प छैन ।
तपाईं आफैले भ्रष्ट्राचारविरोधी अभियान चलाइरहनुभएको छ अनि भ्रष्ट्राचार सहनुको विकल्प छैन भन्नुहुन्छ, अनि त्यो अर्थहीन अभियान तपाईले किने चलाउनुभएको ?
मैले चलाएको अभियान एउटा प्राकृतिक अभियान हो । अर्थहीन नै चाहिं होइन । जनतामा जागरण ल्याउन समय लाग्छ तर अभियान छाड्नु हुँदैन, अभियानले दीर्घकालीन रुपमा कार्य गर्छ । तत्काल भ्रष्ट्राचार नरोकिने भए पनि चेतना फैलाउन नै चाहिं रोक्नु हुँदैन भनेर मैले अभियान चलाएको हुँ ।
छिमेकी देश भारतमा भ्रष्ट्राचार विरोधी राजनीतिक शक्तिको उदय हुन लागेको देखिन्छ । के नेपालमा त्यस्तो शक्तिको उदय हुने सम्भावना देखिन्न ?
भारतको सबै क्षेत्रमा त्यस्तो देखिएको होइन । केवल दिल्लीमा मात्रै भ्रष्ट्राचार विरोधी राजनीतिक शक्ति आम आदमी पार्टीको उदय भएको छ । शिक्षित र सम्पन्न समाजमा भ्रष्ट्राचार कम हुन्छ । अचेत र गरीब समाजमा भ्रष्ट्राचार बढ्छ, घट्दैन । दिल्ली पनि भारतको राजधानी भएको र त्यहाँको सचेतना र सम्पन्नताले भ्रष्ट्राचारविरोधी शक्ति रोजेको हो । भारतमा त सबै प्रान्तमा त्यस्तो शक्ति जन्मन सकेको छैन भने नेपालजस्तो देशमा भ्रष्ट्राचारविरोधी राजनीतिक शक्तिको उदय हुने अवस्था छैन । बाह्य हस्तक्षेपका कारण पनि यहाँ त्यो सम्भव छैन ।
नेपाल देश यतिवेला कता जाँदैछ ?
भ्रष्ट्राचारको दलदलमा नेपाल फस्ने क्रम जारी छ । जबसम्म जनता जाग्दैनन् तबसम्म नेताहरुले सर्वत्र भ्रष्ट्र बनाउँछन् । यसले नेपाल असफल राष्ट्र हुने र राज्य विप्लव नै हुने सम्भावना छ । नेपाल र नेपालीको भविष्य अत्यन्त अन्धकार छ । यसको सबै दोषी हाम्रो सहनशीलता, लाचारीपन र गैरजिम्मेवारीपन हो । दोषी नेता मात्र होइन दविएको मनस्थिति भएका जनता पनि हुन् ।













